२०८२ चैत्र २२ | Apr 05, 2026

अर्जेन्टिना विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरियो

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ३
|
714 views

अर्जेन्टिनाले मङ्गलबार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)बाट औपचारिक रूपमा आफ्नो सदस्यता फिर्ता लिएको छ ।

अजेन्टिनाका विदेशमन्त्रीले संयुक्त राज्य अमेरिकालाई पछ्याउँदै अर्जेन्टिनाले पनि आफ्नो डब्ल्युएचओ सदस्यता परित्याग गरेको छ । अमेरिकाले यस वर्षको सुरुमा यही कदम चालेको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निकट सहयोगी राष्ट्रपति ज्याभियर माइलीको सरकारले कोभिड–१९ को महामारी नियन्त्रणमा विश्व स्वास्थ्य सङ्गठनको आलोचना गर्दै एक वर्षअघि संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य संस्था छोड्ने घोषणा गरेको थियो ।

अर्जेन्टिनाको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय सन्धिले तोकेको समयसीमाभित्र फिर्ताको प्रक्रिया पूरा भएको जनाएको छ ।

‘अर्जेन्टिनाले आफ्नो सार्वभौमिकता र स्वास्थ्य नीतिहरूको बारेमा निर्णय गर्ने क्षमतालाई पूर्ण रूपमा संरक्षण गर्दै द्विपक्षीय सम्झौताहरू र क्षेत्रीय मञ्चहरू मार्फत स्वास्थ्यमा अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिने कार्यलाई जारी राख्नेछ,’ विदेश मन्त्री पाब्लो क्विर्नोले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ।

गत वर्ष अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनका सिफारिसहरू विज्ञानमा आधारित नभएर राजनीतिक स्वार्थमा आधारित भएकाले प्रभावकारी नभएको घोषणा गरेको थियो ।

ट्रम्पले ह्वाइट हाउसमा फर्केपछि बहुराष्ट्रिय समूहबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेको एक वर्षपछि अमेरिकाले जनवरीमा डब्लुएचओबाट बाहिरिने औपचारिक घोषणा गरेको थियो।

विश्व स्वास्थ्य सङ्गठनले बिफर उन्मूलन र पोलियो, एचआईभी, इबोला र क्षयरोगलगायतका रोग र जनस्वास्थ्यसम्बन्धी खतराहरूको सामना गर्न विशेष भूमिका खेलेको छ ।

गत जनवरीमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेहब्रेयससले यस कदमप्रति गहिरो खेद व्यक्त गर्दै यसले संयुक्त राज्य अमेरिका र बाँकी विश्वलाई असुरक्षित बनाउने बताउनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया