२०८२ भाद्र ७ | Aug 23, 2025

विश्वकप क्रिकेट लिग–२ : नेपाल र स्कटल्यान्डबीच खेल हुँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २५

ललितपुर । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङखलामा आज नेपालले र स्कटल्यान्डबीच खेल हुँदैछ । आजको खेल घरेलु टोली डुन्डेको फोर्थहिल मैदानमा नेपाली समय अनुसार दिउँसो ३ः४५ मा हुनेछ । लिग–२ को आफ्नो चौथो चरणको श्रृङखलामा नेपालले शुरुआती दुई खेल जित्दै तालिकामा चार अङ्क थपेको छ ।

यसअघि सोमवार नेपालले पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक विकेट र बुधवार भएको दोश्रो खेलमा नेदरल्यान्डसलाई पाँच विकेटले हराएको थियो । नेपाली टोलीले स्कटल्यान्ड भ्रमण अन्तर्गतको श्रृङखलामा आज तेस्रो खेल खेल्न लागेको हो ।

जितको लक्ष्य राखेर आज पनि नेपाली टोली आफ्नो पूर्ण तयारीका साथ मैदानमा उत्रनेछ । नेपाल र स्कटल्यान्डबीच अहिलेसम्म नौ वटा एकदिवसीय खेल भइसकेकोमा नेपालले पाँच र स्कटल्यान्डले तीन खेल जितेको छ । एउटा खेल नतिजाविहीन भएको थियो ।

अर्को खेल नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालसहित अमेरिका, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, क्यानडा, नामिविया र यूएई गरी आठ टोली सहभागी लिग–२ एकदिवसीय विश्वकप सन् २०२७ को छनोट प्रतियोगिता समेत हो ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौं स्थानमा छ भने स्कटल्यान्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया