सुरक्षा चुनौतीबिच विश्वकपको तयारीमा मेक्सिको

बिजनेस पाटी बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
663 views

ललितपुर - ललितपुर – लागुऔषध गिरोहका शक्तिशाली नेताको मृत्युपछि भड्किएको हिंसाले मेक्सिकोको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्षले आगामी विश्वकप आयोजना क्षमतामा पूर्ण भरोसा व्यक्त गर्नुभएको छ ।

तीन महिनाभन्दा बढी समय बाँकी रहँदा देशले सह–आयोजकका रूपमा जिम्मेवारी सम्हाल्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेको छ तर फिफाका अध्यक्ष जियानी इन्फ्यान्टिनो विश्वस्त देखिनुभएको छ । उहाँले कोलम्बियामा आयोजित पत्रकार सम्मेलनमा मेक्सिकोको अवस्थाबारे निगरानी गरिरहेको बताउँदै मेक्सिको, त्यहाँकी राष्ट्रपति क्लाउडिया सेनबाम र सम्बन्धित निकायहरूमाथि पूर्ण विश्वास रहेको उल्लेख गर्नुभयो ।

हिंसा र सुरक्षाको प्रत्याभूति सरकार र अधिकारीहरूले दिने उहाँको विश्वास छ । मेक्सिकोमा हालै सेनाले लागुऔषध गिरोहका प्रमुखलाई कारबाहीमा मारेपछि देशका विभिन्न भागमा हिंसा फैलिएको थियो, जसमा करिब ७० जनाको मृत्यु भएको बताइएको छ ।

हिंसाको प्रभाव खेल क्षेत्रमा पनि परेको छ । स्थानीय लिगका खेल स्थगित भएका छन्, यद्यपि विश्वकपका खेलहरू योजनाअनुसार हुने फिफाको अपेक्षा छ ।

मेक्सिकोमा १३ वटा विश्वकप खेल आयोजना हुने कार्यक्रम छ र फिफाले अवस्था नजिकबाट नियालिरहेको जनाएको छ । अध्यक्ष इन्फ्यान्टिनोले विश्वकपलाई अविश्वसनीय उत्सवका रूपमा सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो