
ललितपुर - यातायात व्यवसायीहरूले नेपालको सार्वजनिक यातायात क्षेत्र सुधार्न यात्रुप्रति मीठो व्यवहार र सफा खानाको व्यवस्था आवश्यक रहेको बताएका छन् ।
नेपाल माइक्रो तथा बस कम्पनी प्रालिले पोखरामा सम्पन्न सातौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सम्मानमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरूले सेवामुखी व्यवहारले नै सार्वजनिक यातायातको छवि सुधार्ने धारणा राखेका हुन् ।
महासङ्घका निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँरले आफ्नो कार्यकालमा सार्वजनिक यातायात क्षेत्रमा धेरै सुधार भएको दाबी गर्दै अबको ध्यान ‘मीठो बोली’ र ‘मीठो खाना’मा केन्द्रित हुनुपर्ने बताए ।
उनले यातायात क्षेत्रमा ठूलो लगानी भए पनि अझै व्यवसायीलाई ‘गाडीवाला’को रूपमा मात्रै हेरिने गरेको उल्लेख गर्दै सेवा र व्यवहार सुधार्नुपर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले आफ्नो नेतृत्वले यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउन काम गर्ने बताएका छन् ।
उनले दुर्घटना न्यूनीकरण, प्रविधिको प्रयोग तथा सरकारसँग समन्वय गरेर आधुनिक सार्वजनिक यातायात प्रणाली विकास गरिने बताए । कार्यक्रममा अन्य व्यवसायीहरूले पनि पुराना प्रवृत्ति त्यागेर २१औँ शताब्दी सुहाउँदो सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।

बिजनेस पाटी













