ललितपुर - ललितपुर – योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्न सबै राजनीतिक दललाई आग्रह गरेको छ ।
दाङको तुलसीपुरमा केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा जलाइएको घटनाप्रति लक्षित गर्दै वाइसिएलले विज्ञप्ति जारी गरेको हो । झण्डा जलाउने, च्यात्ने र कार्यक्रम बिथोल्ने गतिविधि लोकतान्त्रिक संस्कारविपरीत रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा असहमति राख्न पाइने भए पनि त्यसलाई हिंसात्मक बनाउनु नहुने स्पष्ट पारिएको छ । लामो सङ्घर्षबाट स्थापित गणतन्त्रको सुन्दरता अभिव्यक्ति स्वतन्त्रता र फरक विचारप्रति सम्मानमा निहित रहेको जनाउँदै आसन्न निर्वाचन शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ ।
साथै, निर्वाचन बिथोल्ने कार्यमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

बिजनेस पाटी