ललितपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै देशभरका युवापुस्तामा अब बन्ने नयाँ सरकारप्रति चासो र अपेक्षा बढेको छ । ‘जेनजी’ पुस्ताका युवाहरू आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको आशा व्यक्त गरेका छन् ।
नवनिर्वाचित युवा सांसदको उपस्थिति र जेनजी आन्दोलनले उठाएका मुद्दाले युवामैत्री नीति, डिजिटल सेवा र सन्तुलित विकास अबको सरकारको प्राथमिकता बन्ने अपेक्षा गरिएको छ ।
गत भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्धको जेनजी प्रदर्शनमा घाइते २५ वर्षीय मदन कार्कीले अब बन्ने सरकारले युवाका मागलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले मतदानपछि सकारात्मक परिवर्तनको आशा व्यक्त गर्दै सरकार र जेनजी आन्दोलनबीचको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
अन्तरगत आन्दोलनमा घाइते भएकी लिजा अधिकारी अहिले पनि अस्पतालमा उपचाररत छिन् । २० वर्षीया अधिकारीले श्ययाबाटै नयाँ सरकारले युवाका माग पूरा गर्नुपर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचार अन्त्य, पारदर्शिता र सुशासन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
रामेछापकी २२ वर्षीय सुजता कार्कीले युवामा राजनीतिप्रतिको चासो बढेको बताउँदै अब बन्ने सरकारले पार्टटाइम रोजगारी र विकट क्षेत्रका पूर्वाधार विकासमा ध्यान दिनुपर्ने सुझाइन् ।
दोलखाका २३ वर्षीय विशाल बुढाथोकीले पुराना दलले नसकिएका नीतिगत सुधार र पूर्वाधार विकासमा गति दिनुपर्नेमा जोड दिनुभयो । काठमाडौंका २७ वर्षीय विनय ढुङ्गानाले डिजिटल सरकार र उत्पादनमुखी अर्थतन्त्रमा ध्यान दिनुपर्ने सुझाए ।
दोलखाका २४ वर्षीय किरण बुढाथोकीले प्रणाली सुधारमा ध्यान दिएपछि मात्र विकास प्रभावकारी हुने धारणा राख्नुभयो । खोटाङकी १९ वर्षीया सलिना राईले विदेशिनुपर्ने बाध्यता हटाउनु अबको सरकारको मुख्य जिम्मेवारी हुनुपर्ने बताइन ।
सारांशमा, जेनजी युवाले अब बन्ने सरकारले रोजगारी, सुशासन, भ्रष्टाचार नियन्त्रण र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने अपेक्षा राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया