नबिल बैंकद्वारा समयमा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक

काठमाडौं फागुन १५, २०८१। नबिल बैंकले समयमा ऋण नतिर्ने ७४ जना व्यक्तिहरुको नामावली सार्वजनिक गरेको छ । फोन लोन अन्तर्गत ऋण लिएर नतिर्ने त्यस्ता व्यक्तिहरुको नाम बैंकले सार्वजनिक गरेको हो । ऋणी र बैंकबीच गरिएको कारोबारको इतिहासको आधारमा बैंकले विश्वासको आधारमा ऋण दिने गरेको छ ।विश्वासकै आधारमा दुई लाखसम्म ऋण दिएको नबिल बैंकले अहिले सो रकम असुल्न नसकेपछि बाध्य भएर नाम सार्वजनिक गरेको हो ।

विश्वासकै आधारमा विना धितो ऋण दिएको र ग्राहकले समयमा उक्त ऋण बैंकलाई चुक्ता नगरेपछि सुचीसहित बैंकले ऋणीको नामावली सार्वजनिक गरेको छ ।

विभिन्न संस्थामा काम गरी नियमित रुपमा बैंक पेरोलमार्फत् तलब भुक्तानी हुँदै आएका व्यक्तिलाई विश्वासका आधार र फोन कै भरमा २ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराएको थियो । सो ऋण लिनका लागि बैंकसम्म पुग्न नपर्ने र कुनै धितो पनि नचाहिने व्यवस्था थियो ।

यति सहज तरिकाले ऋण उपलब्ध गराएको बैंकले अहिले असुल गर्न सकेन । समयमा ऋण तिर्न नसकेकै कारण ऋणीको नाम सार्वजनिक गर्दै ३५ दिनभित्र त्यस्तो कर्जा तिर्न बैंकले आग्रह गरेको छ। सो अवधिभित्र पनि ऋणीहरु सम्पर्कमा नआएमा उनीहरुलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने बैंकले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया