मलाई स्पष्टीकरण सोध्न अधिकार उर्जामन्त्रालयलाई छैनः कुलमान घिसिङ
काठमाडौं १५ फागुन, २०८१ । भ्रमण आदेश स्वीकृत नभइकन भारत भ्रमणमा गएको, उर्जा तथा अर्थमन्त्रालयको सहमतिबिनै भारतबाट आउने विजुलीको भाउ बढाउने निर्णय गरेको जस्ता विषयमा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार उर्जा तथा जलस्रोत मन्त्रालयलाई नभएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

उनीमाथि मन्त्रालयले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै उनले आफूलाई मन्त्रिपरिषद्ले चार वर्षका लागि नियुक्त गरेकाले हटाउने विषयमा स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार पनि मन्त्रिपरिषद्लाई मात्रै भएको बताए । ऊर्जा मन्त्रालयले २२ पौषमा उनलाई पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधको थियो ।
कुलमानसँग ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्यांकन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण अझैसम्म पनि बुझाएका थिएनन् । तेस्रो वर्षको कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक ल्याएको अवस्थामा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने व्यवस्था उनीसँगको सम्झौतामा उल्लेख छ ।
घिसिङ र ऊर्जा मन्त्रालयबीच भएको सम्झौताअनुरूप उनले विवरण नबुझाएकै कारण भदौभित्र कार्यसम्पादन मूल्यांकन हुन नसकेकाले उनलाई पदबाट हटाउनुपर्छ भन्दै उनीसँग स्पष्टीकरण मागेको थियो ।
यस विषयमा उनले उत्तिबेलै स्पष्टीकरण विवरण बुझाइसकेका थिए । तर यसमा ऊर्जा मन्त्रालयले विवरण चित्त नबुझेको भन्दै पुनः स्पष्टीकरण मागे हो । चित्त नबुझ्नुको कारण स्पष्ट नभएसम्म आफूले स्पष्टीकरण निदिने निर्देशक घिसिङले बताए ।
अफूलाई २४ घण्टाभित्र नै स्पष्टीकरण पेस गर्नुपर्ने र कारबाही गर्नुपर्ने कुनै कारण नभएको भन्दै स्पष्टीकरणकै आधारमा भने पदबाट हटाउन नमिल्ने बताए ।
नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा सर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्थामध्ये कुन आरोपमा कारबाही गर्न लागिएको हो सो अफूलाई जानकारी नभएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया