२०८२ आश्विन १६ | Oct 02, 2025

आधुनिक तीज : सँस्कृति कि विकृति ?

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ५
|
765 views

आन्ना ढुंगेल नीता

तीज समस्त हिन्दू नारीहरुले मनाउने एक महान पर्व हो । हिन्दूधर्मावलम्बी नेपालीहरूको साँस्कृतिक पहिचानको रूपमा मनाइने हरितालिका तीजको छुट्टै महत्व रहि आएको छ । यो तीज शब्दको अगाडि जोडिएको हरितालिका शब्दको भने फरक अर्थ रहेछ । वैदिक सनातन धर्म परम्परा अनुसार राजा हिमालयले आफ्नी पुत्री गौरीको बिवाह भगवान बिष्णुसँग गरिदिने वाचा गरेछन् । तर यो विवाह आफ्नो इच्छा विपरित भएको कुरा गौरीले आफ्ना सङ्गीहरुसँग व्यक्त गरेपछि उनलाई साथीहरूले हरेर (भगाएर) बिकट स्थानमा पुर्याएछन् । त्यही विटक स्थानमा बसेर गौरी (पार्वती) ले कठोर तपस्या गरिन् । गौरीको तपस्याबाट देवादीदेव महादेव प्रशन्न भएर भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथिमा महादेव स्वयं प्रकट भएर आशिर्वाद दिएको भनिन्छ । धार्मिक परम्परा अनुसार गौरी (पार्वती)को यस किसिमको कठोर तपस्या पश्चात् उनको इच्छा पूरा भएको खुशीयालीमा हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजका नाममा यस पर्व मनाउंदै आएको धार्मिक किंम्बदन्ती पाइन्छ । गौरीलाई साथीहरुले हरे पश्चात् उनले ठूलो तपस्या गरी सफल भएकोले तीज पर्वलाई हरितालिका तीज भनिन थालिएको रहेछ ।

हरितालिका तीज नेपाल, भारत लगायत नेपालीहरुको बसोबास भएका अन्य मुलुकहरुमा पनि मनाउने गरिन्छ । विभिन्न मुलुकमा छरिएर रहेका नेपाली हिन्दू नारीहरुले आ–आफ्ना ठाउँबाटै यस पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेका छन् । खासगरी नेपाली समूदायले बिदेशमा विशेष पर्वको रूपमा मनाउंदै आएको देखिन्छ । अर्को शब्दमा भन्नु पर्दा आजभोलि यस पर्वले नेपालीहरूको साँस्कृतिक पहिचानको रूपमा बिदेशमा पनि परिचय पाउन थालेको छ ।

अर्कोतर्फ परापूर्व कालमा स्वयं माता पार्वतीले नारी जातीको आफ्नो अनुकूलको योग्य वर छान्न पाउने जन्मसिद्ध नैसर्गिक अधिकारलाई व्यवहारिक रूपमा स्थापित गराउन पिताको निर्णयलाई अस्वीकार गरी घरबाट भागेर टाढा गई ठूलो तपस्या पश्चात् आफू अनुकूल वर छानी व्यवहारिक रूपमा समाजमा स्वतन्त्रता स्थापित गरेको देखिन्छ । त्यसैले पनि माता पार्वतीलाई नारी जातीको स्वतन्त्रता र हकअधिकारका लागि बिगुल फुक्ने पहिलो महिला अभियन्ताको रूपमा लिन सकिन्छ ।

धार्मिक र आध्यात्मिक दुवै रुपमा हरितालिका तीजको निकै ठूलो महिमा छ । यस दिन विवाहित हिन्दू नारीहरुले आफ्ना पतिको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै र अविवाहितहरुले आफू अनुकूलको योग्य वर मिलोस् भन्ने कामना गर्दै भाद्र शुक्ल तृतीयाको दिन निराहार व्रत बसी भगवान शिवजीको विशेष पूजा अर्चना गरी परिवार र साथीसंगीहरुसँग नाचगान गर्दै हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

तीज पर्व विशेष गरी भेटघाट, खानपिन, व्रत, स्नानका साथै अरुनधती सहित सप्त ऋृषिहरुको पुजा अर्चनामा केन्द्रित छ । विवाहित महिलाहरु माइत गई एक दिन अघि (दर खाने दिन) विभिन्न प्रकारका मिष्ठान्न परिकारहरु बनाएर खाने र भोलिपल्ट व्रत बसी रातो पहिरन र गरगहनामा सजिएर भगवान शिवजीको पूजाअर्चनाका साथ नाचगान गर्नुले बाहिरी रौनकता बढाएर यसको प्रभावकारितालाई अझै बढाएको छ ।

विशेष गरेर चारदिनसम्म मनाइने यस पर्वको पहिलो दिन दरखाने दिन हो । यस दिनमा आफ्ना छोरी र दिदिबहिनीहरु एकैठाउँमा भेला गराई आमा तथा दाजुभाइहरुले मिठा मिठा परिकार बनाएर खुवाउने चलन छ । यसदिन बिहानैदेखि साँझसम्म मिठा–मिठा परिकारहरुलाई दरको रुपमा खुवाउने र खाने चलन छ । यस दिनको मध्यराति वा अर्को दिन लाग्नुभन्दा अगावै दरको रुपमा दूध, चामल र घिउ मिलाएर पकाएको खिर, दूध, दही र फलफुल लगायतका परिकारहरु खाने र खुवाउने प्रचलन छ । पहिले पहिले सानो उमेरमै विवाह गरिदिने र तीजको दिन निराहार व्रत बस्ने गर्दा असजिलो हुने भन्दै दर खाने दिनमा मध्यरातसम्म धेरै परिकारहरु खाने गरिन्थ्यो । यसरी खाने गर्नाले ब्रत बस्दा सहज हुने मान्यता अझै पनि रहिआएको छ ।

यस्तै दोस्रो दिनलाई हरितालिका तीजको रुपमा मनाउने गरिन्छ । यस दिनलाई तीज पर्वको दोस्रो महत्वपूर्ण दिनको रुपमा लिइन्छ । यस दिन भगवान शिवजीको पूजाआराधना, नाचगान र रमाइलो गरी मनाइन्छ । यस दिन तीजपर्व विशेषका भाकाहरुमा नाच गान गर्दा आफ्ना वर्षभरीका सुख दुखका भोगाइहरु व्यक्त गर्ने प्रचलन परापुर्व कालदेखि चलिआएको पाइन्छ ।

तेस्रो दिन गणेश चतुर्थी अर्थात् गणेश भगवानको जन्मदिनको रुपमा भगवान गणेशको पूजा आराधना गरी मनाइन्छ ।  यस दिन गणेश भगवानको पूजा अर्चना गर्यो भने गणेश प्रसन्न भई मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ ।

त्यसैगरी चौथो दिनलाई ऋषिपञ्चमीको रुपमा मनाइन्छ । यस दिन रजस्वला भएका महिलाहरुले अपमार्गसहित माटो, गोबर, जौ, तिल, कुश मिश्रित पानीले स्नान गरी चोखो वस्त्र लगाएर अरुनधती सहित सप्तऋषिको पूजा गरी नाचगान गर्ने चलन छ । यसरी सप्तऋषिको पूजा आराधन गर्दा जानी नजानी हुन गएका पापहरुको दोष मेटिन्छ भन्ने धार्मिक मान्यता छ । यस किसिमले हरितालिका तिजको व्रत पूरा भएको मानिन्छ ।

तर समयको परिवर्तनसँगै तीज पर्व पनि परिवर्तन हुन थाल्यो । हिजोको दिनमा माईतीघरको आँगनमा मौलिक गीत घन्काएर छमछमी नाच्दै अनि मठमन्दिर र शिवालयमा पूजा आराधना गरेर भजन गाउने अनि दिदीबहिनी र साथीसङ्गी चौंतारामा भेला भइ दुःख सुखका भाका गाउँदै रमाउनमा सिमीत हुने पर्व आज शहरबजारका होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, बस्ती, ब्यवसाय, सामाजिक सञ्जाल हुंदै यसले ब्यापकता लिएको छ ।

हिजो मौलिक सँस्कृतिसँगै सुखदुःख र विरहका भाकामा थपडी बजाउँदै गाइने गीतहरु आज म्यूजिक भिडियो सहित आधुनिक बाजागाजामा लयबद्ध भएका छन् । यसरी हेर्दा एकातिर तीज पर्वको माध्यमबाट सामाजले सांस्कृतिक, सांगितिक र व्यवसायिक उपलब्धि त मनग्यै हासिल गरेको छ । तर, यसरी आधुनिकतामा तीज पर्व मनाइरहँदा यसको मौलिक परम्परागत पहिचान नामेट हुने त होइन ? भन्ने त्रास भने बढिरहेको देखिन्छ ।

पछिल्लो समयमा महिलाले गाउने तीजका गीतहरुमा पुरुषका स्वरहरु सुनिनु, तीजका म्युजिक भिडियोहरुमा पनि पुरुषहरु नाच्न थाल्नु, नारीकै गीत र नाचमा पनि अश्लीलता र छाडापन देखिनु, दरमा फलफूल हैन ह्विस्की र वाइन खाइन्छ भन्दै गीत गाउनु अनि छोप्ने अंग देखाउन थाल्नु, दरको नाममा महिनौं पार्टी गरिरहनु, स्वतन्त्रता र आधुनिकताका नाममा महिलाहरुले बियर र ह्विस्कीका बोतल बोकेका तस्वीरले सामाजिक सञ्जाल भर्नु, पहिरन र गरगहनामा होडबाजी गर्दै अत्यधिक खर्चिएर तीज पर्व मनाइरहँदा केही नयाँ मान्यताहरु त थपिएका होलान् । तर, कतिपय यस्ता कुराहरुले तीजको नाममा विभिन्न खालका विकृतिहरु भित्र्याइरहेका छन् । समयको बदलिंदो प्रवाह सँगसँगै समाजमा देखिएका नकारात्मक परिवर्तनहरूले हाम्रा सँस्कृति र सभ्यताहरूलाई बदनाम गर्दै जान थालेका छन् ।

यसो भनिरहँदा परम्परा र मौलिकतालाई मान्यता दिएर परिवर्तन हुनु हुँदैन भन्ने आशय चाहिँ पटक्कै होइन । तीज पर्वमा देखिएको विकृतिका बारेमा खण्डन गर्दा कतिपयले नारी भएर नारीकै आलोचन गरेको भन्ने आरोप पनि लगाउन सक्लान् तर त्यसो होइन । हरेक चाड पर्वहरु परम्परागत रुपमा मात्र नभइ समयसापेक्ष परिवर्तित स्वरुपमा मनाउनु पर्छ तर परिवर्तनका नाममा विकृति निम्तिन भने दिनु हुँदैन । हाम्रो धार्मिक परम्परा, साँस्कृतिक रितिरीवाज एवं गीत संगीत अनि भेषभुषालाई संरक्षण र सम्बद्र्धन गर्न सक्नु नै तीज पर्वको मुख्य विशेषता हुन् ।

बिगत केही वर्षदेखि आधुनिकता र परिवर्तनको नाममा तीज जस्तो पवित्र चाड बिकृति र बिसंगति तिर धकेलिँदै छ । मौलिकता र स्वतन्त्रताको नाममा पार्टी प्यालेस र होटल रेष्टुरेन्टमा महिनौ अगाडिदेखि दरका नाममा पार्टी गर्नुले भरपुर मनोरञ्जन र नारी स्वतन्त्रता त छर्लङ्गै देखियो तर यसले तीज पर्वको वास्तविक महत्वलाई भने घटाएको छ ।

पहिले माइतीघरमा आमा दिदीबहिनीहरुको साथमा बसेर मध्यरातमा उठेर खिर खाँदा दर हुन्थ्यो । नेपाली परम्परा अनुसार दरमा पनि दूध, चामल र घिउ मिसाइ पकाएको खिरलाई विशेष महत्व दिइन्थ्यो भने अहिले महिनौं अगाडिदेखि पार्टी प्यालेसमा गएर मासु र रक्सी खानुलाई दर भनिन थालिएको छ ।

पहिले चार दिने मनाइने तीज पर्व अहिले दुई चार महिना अगाडिदेखि मनाउन थालिएको छ । पछिल्लो समय आफ्ना अनुकूलको दिन पारेर कहिले साथीकोमा त कहिले आफन्तकोमा पालैपालो दर खान थालिएको छ । त्यसमा पनि प्रत्येक चोटी दरखान जम्मा हुँदा सारी र गरगहना फेर्ने, भइ नभइ अर्काको देखासिखी गर्ने अनि कसले कस्तो लगायो आफूले के लगाउने भन्ने होडबाजीले गर्दा कतिपय घरमा यसले कलह समेत निम्त्याएको देखिन्छ ।

बियर र ह्विस्कीको बोतल बोकेको असान्दर्भिक र भद्दा तस्वीरहरु सामाजिक सञ्जालमा राख्ने, पहिरनबाट आर्थिक रुपपमा को कतिको सक्षम र असक्षम छ भन्ने देखाउन खोज्नु, दरको परिकारमा बियर र ह्विस्की समावेश गर्नु, को कस्तो हो भन्ने कुरा सञ्जालबाटै मूल्याङ्कन गरेर टिकाटिप्पणी गर्नु, भइनभई ऋण काढेर भए पनि देखासिखी गर्नु चाहिँ विकृति नै हुन् । एक वर्गले पैसा र तुजुकको यस किसिमको तमास देखाउँछन् । अर्का थरिले ऋण गरेरै भए पनि देखासिकी गर्छन् । तर निम्न वर्गीयहरुले यस किसिमको आर्थिक भार थाम्न नसक्दा रहरहरु मनमै गुम्स्याउँन बाध्य हुन्छन् । यसले गर्दा तीज जस्तो महान पर्वप्रति वितिष्णा जाग्न थालेको देखिन्छ ।

हाम्रा मौलिक चाडपर्वहरु भनेका पारिवारिक÷सामाजिक एकता, अनुशासन र सद्भावका प्रतीक हुन् । सामाजिक, साँस्कृतिक मूल्य मान्यताले नै समाजलाई अनुशासनमा बाँधेर राखेको हुन्छ । पछिल्लो समयमा देखिएका गतिविधिहरुलाई नै तीज भनेर पछ्याउँदै अगाडि बढ्ने हो र सँस्कृतिको नाममा यसरी विकृतिलाई मौलाउन दिँदै जाने हो भने समाज अनि राष्ट्रको पहिचान र अस्तित्वसँगै तीज पर्वको अस्तित्व पनि समाप्त हुने देखिन्छ ।

त्यसैले सभ्य समाज वा राष्ट्रका लागि धर्म–सँस्कृति, पर्व, परम्परा, भेषभूषा भनेका मौलिक सम्पत्ति र आफ्ना पहिचान हुन् त्यसका नराम्रा पक्षलाई परिमार्जन गरी आफ्नो सँस्कृतिको मौलिकतालाई संरक्षण गरौं । तीजको विशेषता गुम्न नदिऔं ।

अन्त्यमा हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको सबैमा हार्दिक शुभकामना ।

Neetadhungel2016@gmail.com

फेसबुकबाट तपाईको प्रतिक्रिया