उबेलाको एसएलसी, उच्च शिक्षा र जागिर
लोकनाथ गौतम
भदौ अन्तिमतिर एसएलसीको मार्कसिट लिएपछि घरमै बसेँ । भविष्यको कुनै सोच आएन । कतै कुनै केही पहल गर्ने कुनै जानकारी नै थिएन । घरकै खेतीपाती, वस्तुभाउको धन्धा गर्दै वित्यो । हिउँदमा बस्तुभाउलाई हरियो घाँस हुँदैनथ्यो, सुकेको घाँस नै हुन्थ्यो । बेँशीको पराल बेँसीमै राखिन्थ्यो । गाउँको सुकेको घाँसपात सकिएपछि बस्तुभाउ बेँसी लैजाने चलन थियो । माघको अन्तिम या फागुनको पहिलो साता तिर वस्तु बेँसी लगेर मेरा दुइजना गोठमा बस्यौँ । गाउँ, बेसी यस्तै गर्दै थियौ । गाउँको स्कूलमा मेरा अग्रज साहिँलाबुवा र कान्छाबुवाका छोराहरू प्रेम दाई र अर्जुन दाई दुइभाइ शिक्षक हुनुहुन्थयो । नयाँ शिक्षा योजना लागु गर्न शिक्षकले त्रि बि। शिक्षा शास्त्र अध्ययन संस्थानबाट १० महिने नर्मल तालीम लिनु पर्ने व्यवस्था भएछ । दुइ जना शिक्षक दाज्यूहरू मध्ये एकजना दाई कोटाबाट र एकजना दाज्यू आफ्नै खर्चमा नर्मल तालीमका लागि काठमाडौं आउनु भएछ । अनि शिक्षकको अभाव भएपछि मसँगै एस।एल।सी गर्नु भएका शिवबहादुर पाठक र मलाई बोलाए । बेँसीबाट घर आएर स्कूल गएँ । सञ्चालक समितिले हामी दुई जनालाई शिक्षक नियुक्ति गर्यो । शिक्षक नियुक्ति भएको एक डेढ हप्तामा नियुक्ति समर्थनको लागि जल्ला शिक्षा कार्यालयमा गयौँ, मेरो नागरिकता प्रमाणपत्र बनाएकै थिएन । शिवबहादुरजीले बनाउनु भएको रहेछ । उहाँको नियुक्ति सदर भयो, म त्यत्तिकै फर्केँ । चन्द्रसिँह लामा सञ्चालक समितिका अध्यक्ष हुनुहुन्थ्यो, मलाई नागरिकता पनि बनाइदिनु भयो र अर्जुनदाई र प्रेमदाई दुबैलाई कारवाही गरेर हटाएर तपाईँलाई शिक्षक नियुक्ति गराउँछु भनेर मलाई भन्नु भयो । मैले दाईहरूलाई कारवाही गरेर परिवारमा झगडा गरेर म जागीर खान्न भनेर स्कूल पढाउन छोडेँ ।
मनमा अनेक कुरा खेलिरहने, तरङ्ग आइरहने भैरहेको थियो । बुवाले यहाँ जे जस्तो भए पनि म सम्हाल्छु, काठमाडौँ पढ्न जाउ भन्नु भो । घरको अवस्था कताकता समस्या देखिएपनि, मनमा खुसी पलायो । काठमाडौँ पढ्न जाने तयारी गरेँ । भोलिपल्ट बिहान काठमाडौँ हिड्ने कार्यक्रम थियो, बेलुका खाना खाएपछि माहिलाबुवाले उहाँको घरमा बोलाउनु भयो । म गएँ । त्यहाँ साहिँलाबुवा, डिल्लीप्रसाद दाई, हरिप्रसाद दाई र अरू दाज्यूभाइहरू जम्मा हुनु भएको रहेछ । अनि मलाई सम्झाउनु भयो, काठमाडौँ जाने तयारी गरेको छस्, घरको अवस्था यस्तो छ, कसरी जान्छस् रुभनेर उहाँहरूले मलाई तँलाई पढ्न जान भन्दा घर सम्हाल्न उचित लाग्छ भनेर सम्झाउनु भयो । हो पनि आमा पनि रोगी, बुवा बृद्ध, पत्नी पनि केटाकेटी, गाउँ बेँसीको खेतीपाती, बस्तुभाउ,ज्यालामा काम गर्ने मान्छेको अभाव । अवस्था सम्झँदा जो कोहीलाइ पनि सहज लाग्ने अवस्था थिएन । यो उहाँहरूले मेरो हितमै भन्नु भएको कुरा थियो, अवस्था त्यस्तै थियो । केही नबोली धेरै बेर सम्म काकाहरू, अग्रजहरूका कुरा एकोहोरो सुनेँ, सुनिरहेँ, आफ्नो कुनै बोली फुटेन ।
घर आएपछि बुवा आमाले किन बोलाएको रहेछन् भनेर सोध्नुभो । म केही बेर बोल्न सकिन । केही कुरा त होला । के भने भनेर फेरि सोध्नु भो । मनमा गाँठो परेर आयो । सकि नसकी काठमाडौ पढ्न कसरी जान्छस भनेर सम्झाउनु भो भन्ने कुरा सुनाएँ । अनि तैँले के भनिस त भन्नु भो, मले केही भनिनँ भनेर अँध्यारो मुख लगाएर बसेँ । यो मेरो जीवनको एउटा ठुलो मोड रहेछ भनेर अहिले महसुस गर्छु । आमा रोगी, एउटा छोरो साथमै बसे हुन्थ्यो भन्ने चाहना थियो होला जस्तो लाग्छ, तर आमाको एउटा दृढ बिश्वास के थियो भने मेरो मामाघरका हजुरबुवाले सपनामा देखेर बताएको सबै कुरा मिल्थ्यो रे । हजुरबुवाले आमालाई म गर्भमै छँदा अहिले छोरा जन्मन्छ र यो जहाँ गएपनि तेरो प्राण जाने बेलामा यो छोरा साथमै रहन्छ भन्नु भएको रहेछ । यो कुरा आमाले बारम्बार सुनाउनु हुन्थ्यो । पछि मैले जागीर खाएर बाहिर जाँदा पनि छोरो जहाँ गए पनि मेरो अन्तिम समयमा आइपुग्छ भन्नु हुन्थ्यो, चिन्ता गर्नु हुन्नथ्यो । हुन पनि त्यस्तै भयो । म काठमाडौँ पढ्न आउनमा आमाको कुनै रोकावट थिएन । बुवाले भन्नु भयो तँ चिन्ता नगर, पढ्न जा भनेर भन्नु भयो । यो शब्द म कहिल्यै बिर्सन सक्तिन । पिताजीको यही शब्दले नै मेरो जीवनले कोल्टे फिरेको हो । यो जीवनको ठुलो मोड थियो ।
कक्षा १० पढ्न काठमाडौ आएका माहिलाबुवाका छोराहरू भाइ यज्ञ र नेत्र डेरा लिएर बसेका थिए । म पनि त्यहिँ आएँ, सँगै बस्यौँ । हाम्रा अग्रज दाज्यूहरूले साइन्स निकै गाह्रो र खर्चिलो हुन्छ, आर्ट्स नपढे पनि पास हुइन्छ । हाम्रो जस्तो अवस्थाको मान्छेले पढ्नु पर्ने भनेको कमर्स हो भन्ने मान्यता राख्नु भएको थियो । म त्यही मान्यताले हो कि, सजिलो हुन्छ भनेर आर्ट्स पढ्न त्यतिबेलाको नेपाल नेशनल कलेज हालको शङ्करदेव क्याम्पसको रात्री कक्षामा भर्ना भएँ । अनि मलाई थाहा भयो कि आर्ट्सको धेरै बिधाहरू रहेछन् । यो त पढ्नु पर्ने विषय जस्तो रहेछ भन्ने लाग्यो । रात्री कक्षामा भर्ना हुनुको कारण, पाए जागीर खान पनि हो । रात्री कक्षाको पढाई, बृद्ध प्रिन्सिपल, विद्यार्थीहरू समयमा फि नतिर्ने आदि कारणले पढाई त्यति राम्रो भएन । जागीर खोज्ने धुन छँदै थियो । नापी बिभाग ट्रिगोनोमेट्रिकल ब्राञ्चमा बिज्ञापन खुलेको रहेछ, दरखास्त दिएँ । अन्तर्वार्तामा पास भएँ । अस्थायी मुखियामा जागीर खाएँ । आइ।ए फर्स्ट एयर भन्ने चलन थियो, जाँच भयो । त्यो जाँच कलेजले नै लिन्थ्यो । त्यसको त्यति महत्व थिएन । अर्को वर्ष साउनबाट नयाँ शिक्षा योजना लागु हुने भयो । कलेजका प्रिन्सिपल शङ्करदेव पन्त नै यसको बिरोधी हुनुहुन्थ्यो । म मेरो कलेजमा नयाँ शिक्षा लागु हुन दिन्न भन्नु हुन्थ्यो । यसको बिरोधमा २०३० साल जेठमा लामो र ठूलो शैक्षिक हड्ताल भयो । पढाई अवरूद्ध भयो । अस्थायी जागीर खाएको ६-७ महिना भएको थियो । लोकसेवाबाट अर्को व्यक्ति सिफारिस भएर नआएसम्म अस्थायीमा जागीर खान सकिन्थ्यो । यसै बिचमा मेरा भिनाज्यूसँग नेपाल आयाल निगमका त्यतिवेलाका प्रवन्धकले करिव एक हप्ताका लागि टाइप जानेको मान्छे खोज्नु भएको रहेछ । मलाई सोध्नु भयो । मैले अफिसमा पनि सल्लाहले बिदा लिएर एक हप्ता जति काम गरेँ । उहाँ मेरो कामप्रति खुसी हुनु भएको थियो । खाली भएपछि बोलाउँछु भन्नु भएको थियो । करिव साउनतिर आइ.ए लेभलको रिजल्ट भयो, मसँगै एस.एल.सी गरेका भाइ यज्ञ पास भए । त्यसबेला शैक्षिक सत्र खेर जान नदिन भदौतिर परीक्षाको फर्म खुलेको थियो । मैले पनि प्राइभेटबाट जाँच दिन्छु भनेर फर्म भरेँ ।
भोलिपल्टदेखि जाँच थियो । अघिल्लो दिनमा नेपाल आयल निगममा मलाई बोलाइयो र तेस्रो तहमा अस्थायी नियुक्ति लिएँ । नापी बिभागमा राजीनामा दिएँ । मलाई दोधार भयो जाँच छोडौँ कि दिउँ भयो ।
बिहानको ७ देखि १० बजेसम्म परीक्षा थियो । लैनचोैरमा परीक्षा केन्द्र थियो । बिहानै उठेर हिँडेँ । कतै चिया खाने ठाउँ पनि भेटिनँ । परीक्षा हलमा गएँ । ९स्३० बजेसम्म जति लेखेँ, लेखेँ, कपि बुझाएर निस्केँ । लैनचोरमा ट्याक्सी खोज्दै गर्दा एउटा मिनिबस राष्ट्रिय सभागृहसम्म जाने पाएँ । त्यहाँ ओर्लेर दौडँदै अफिस पुगेँ । ठिक टाइममा पुगेछु । त्यतिबेला हाजीरकापी मेनेजरकै कोठामा हुन्थ्यो । लिखित रूपमा पनि भौतिक रूपमा हाजीर हुनु राम्रो पक्ष लाग्छ मलाई । यसरी आधा घण्टा समय छोडेर पनि जाँच दिएँ र अफिसलाई पनि निरन्तरता दिन सकेँ । १० दिन सम्म मैले एक छाक खाना खाईँन । दिउँसो खाजा र बेलुकाको खाना मात्र खाएँ । यो पनि जीवनको एउटा ठुलो अनुभव हो, सङ्घर्ष पनि त हो । मङ्सिर तिर हो कि जस्तो लाग्छ स्थायीको लागि नेपाल आयल निगममा विज्ञापन खुल्यो । जाँच दिएँ । तेस्रो तहमा पास भएँ । स्थायी पनि भएँ । केही महिनामै आई।ए।को रिजल्ट पनि भयो, पास पनि भएँ । त्यति दुस्ख गरेर जाँच दिएको पास हुँदा कति खुसी भएँ, साध्य छैन ।
आई।ए। पास भएपछि नेपाल आयल निगममा पाँचौँ तहको बिज्ञापन खुल्यो, म योग्य भैसकेको थिएँ । जाँच दिएँ । लिखितमा पास भएँ, अन्तर्वार्तामा फेल भएँ । प्रवन्धक, पछि महाप्रवन्धक हुनु भयो सुवर्ण विक्रम थापा । उहाँले मलाई बोलाउनु भयो र परीक्षणकाल कहिले सकिन्छ भनेर सोध्नुभो । मैले बताएँ । परीक्षणकाल सिद्धेको दिन मलाई सम्झाउनु भन्नु भो । हवस् भनेँ । परीक्षणकाल सिद्धेको दिनमै र मैले नसम्झाउँदै मलाई चौथो तहमा कायम मुकायम दिनु भो । पहिला सबै पदमा कायम मुकायम दिने चलन थियो । पछि कार्यालय प्रमुख पद वा स्वतन्त्र बिभागीय प्रमुखमा मात्र कायम मुकायम दिने नियम आयो । मुकुन्द प्रसाद ढुङ्गेल पनि नेपाल आयल निगममा म नियुक्ति भएको लगत्तै पछि नियुक्ति हुनु भो । उहाँ र म दुबै जना काविल मानिन्थ्यौँ । हामी दुबै बिभिन्न ठाउँमा पाँचौँ तहमा जाँच दिन थाल्यौँ । हामीलाई सामान्य ज्ञान कण्ठै जस्तो थियो । एकदिन महाप्रवन्धकले मलाई फेरि सोध्नु भो, तेस्रो तहको दुइ बर्ष कहिले पुग्छ मलाई सम्झाउनु भन्नु भो । २ बर्ष पुगेको दिन मैले नसम्झाउँदै चौथो तहको बढुवा निकाल्नु भयो र तुरून्त हामी दुबैको बढुवा भयो ।
त्यहि बर्ष फेरि पाँचौँ तह खुला बिज्ञापन निस्कियो, मैले जाँच दिईनँ, मुकुन्दजीले जाँच दिनु भयो । उहाँ लिखितमा पास हुनुभो अन्तर्वार्तामा फेल हुनु भो । हामी क्याम्पस पनि पढ्दै जाँच पनि दिँदै थियौँ । दुइ तिनवटा संस्थानमा लिखितमा नाम निस्कियो, गोरखापत्रमा नाम प्रकाशित भयो । हामीले बिभागीय स्वीकृति लिएका थिएनौँ । त्यो थाहा भएपछि तुरून्तै नेपाल आयाल निगमले पनि पाँचौँ तहको विज्ञापन निकाल्यो । मैले फर्म भर्दिन भनेँ, यो कुरा महाप्रवन्धकले थाहा पाउनु भएछ र मलाई बोलाएर फर्म भर्नु भो भनेर सोध्नु भो । मैले सिधै भनेँ लिखितमा पास भए पनि हाम्रो नाम ननिस्कने रहेछ सर, म जाँच दिन्न भनेँ । उहाँले पहिलाको कुरा बिर्सनु, जाँच दिनु,लिखितमा आउनु भयो भने यसपाली तपाईँलाई जसरी पनि ल्याउँछु भन्नु भो र फर्म भरेँ । यति छिटो परीक्षा र नतिजा निस्क्यो, हामी दुबै पास भयौँ, अन्तर्वार्तामा पनि हामी दुबै पास भयौँ । अन्त नाम निस्केको ठाउँमा अन्तर्वार्ता दिनै नपाई नेपाल आयल निगममा पाँचौ तहमा स्थायी भयौँ । पाँचौ तहमा काम गर्दा गर्दै स्नातक पनि पास गर्यौँ । रात्री कलेज, अहिले त बत्तीको अवस्था यस्तो छ, बारम्बार पढाईमा अवरोध भए पनि मैले उच्च शिक्षामा राम्ररी पढेको यही तह हो ।
स्नातक पास भएपछि आकाँक्षा पनि बढ्दै गयो । अधिकृत हुने प्रवल चाहना थियो । यसै बिच मेरा एकजना मित्र केशव आचार्य जोपछि भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा उहाँको आर्थिक सल्लाहकार रहनु भएको थियो । अर्थशास्त्रका अत्यन्त काविल मान्छे । उहाँले मलाई एक दिन टिपिटि मेथडबाट भविष्य बताउने एकजना ज्योतिष मारवाडी सेवा समितिमा आउनु भएको छ, भेट्न जाउँ भन्नु भो । हामी गएर भेट्यौँ । उहाँले एउटा लिखित प्रश्नको उत्तरका लागि पाँच रूपैयाँ लिनुहुन्थ्यो । मैले पाँचवटा प्रश्न सोधेँ । उहाँले लेखेर दिनु भएको जवाफ अहिले पनि मसँग सुरक्षित छ । त्यसमा मैले सोधेको थिएँ, मैले कुन पेशा अपनाउनु वेश होला ? उहाँले मलाई कुनै प्राविधिक क्षेत्र वा न्याय क्षेत्र अपनाउनु भन्ने सुझाव दिनु भएको थियो ।
त्यसको केही दिनमै तात्कालीन हवाई विभागले एटिसी र कम्युनिकेशन अधिकृत प्राविधिक पदको तालीमको लागि बिज्ञापन मागेको देखेँ । आर्ट्स पढेकाहरूका लागि प्राविधिक क्षेत्र पनि रहेछ भनेर मैले पनि दरखास्त हालेँ । कानून त पढेकै थिएन । लिखित परीक्षा भयो, सोही दिन रिजल्ट भएछ । पास भएँ । अनि तुरून्तै अन्तर्वार्ता पनि भयो, त्यसमा पनि पास भएँ । अब स्थायी जागीर छोडेर एटिसीर कम्युनिकेशन तालीमतिर लागेँ । क्रमश…
(गौतम लोमो सयम सरकारी सेवामा कार्यरत रही सेवा निवृत हुनुभएको हो । उहाँको अनुभव र स्मरण नयाँ पुस्तालाई प्रेरणाको विषय बन्न सक्ने ठानेर प्रस्तुत सामग्री प्रकासित गरिएको छ)
प्रकासित मिति २०८१-३-१४
फेसबुकबाट तपाईको प्रतिक्रिया