२०८२ फाल्गुन ६ | Feb 18, 2026

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १५
|
969 views

बाँके । बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता सुरु हुँदा २०७७ चैतमा सम्पन्न हुनुपर्ने भए पनि पटक–पटक म्याद थप गर्दासमेत ठेकेदार कम्पनीको लापर्बाहीले सडक निर्माणको काम हुन नसकेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताउनुभयो । पुरानो निर्माण व्यवसायीबाट काम सम्पन्न नभएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र गाउँपालिकाको मागका आधारमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले ठेक्का सम्झौता रद्ध गरी उक्त सडक निर्माणका लागि नयाँ ठेक्का आह्वन गरेको छ ।

पुरानो निर्माण व्यवसायीले काम सम्पन्न गर्न नसक्ने देखिएपछि ठेक्का सम्झौता रद्ध गरेर नयाँ प्रक्रिया अघि बढाइएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख डिभिजनल इञ्जीनीयर लीलाबहादुर भण्डारीले बताए।

सडक डिभिजनले ठेक्का प्रक्रिया तोडेपछि निर्माण व्यवसायी अदालत गएकोमा अदालतबाट अन्तरिम आदेश जारी नभएपछि स्थानीयको मागअनुसार हुलाकी सडक आयोजनाले सडक निर्माण कार्य अघि बढाउने चासो लिएको उहाँको भनाइ छ । उनका अनुसार, खजुरा खण्डमा बाँकी रहेको सडक निर्माणका लागि करिब रु १० करोडको लागत लाग्ने अनुमानसहित ठेक्का आह्वान गरिएको छ । नेपालगञ्ज–गुलरिया सडक विस्तार र खजुरास्थित पेडारी नालामा चार लेनको पुल निर्माण प्रक्रिया अघि बढेसँगै अलपत्र सडक निर्माणमा हुलाकी सडक आयोजनाले विशेष चासो देखाएको हो ।

बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा अधुरो रहेको दुई हजार २०० मिटर सडक गरी दुवै सडक नयाँ प्रक्रियाबाट छ महिनाभित्र काम सम्पन्न गर्नेगरी लागिपरेको उनको भनाइ छ ।

हुलाकी राजमार्गले नेपालगञ्ज–गुलरिया चार लेन सडकको काम गरिरहेकाले त्यसको बीचमा अलपत्र परेको खजुरा सडक पनि निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो । नयाँ ठेक्का सम्झौताअनुसार सडकको बाँकी काम आगामी असार १५ गतेभित्रै सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखिएको छ । यससँगै अब खजुरा बजारका स्थानीय बासिन्दाको लामो समयदेखिको अधुरो सडक निर्माण हुने अपेक्षा बढेको खजुरा गाउँपालिकाका अध्यक्ष विकले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया