२०८२ फाल्गुन ६ | Feb 18, 2026

खालिदा जियाको राजकीय अनत्येष्टि

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १६
|
1.6k views

बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ अन्तिम विदाइ दिएको छ । राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गर्‍यो ।

प्रधानमन्त्रीका रूपमा सेवा गर्ने बङ्गलादेशकी पहिलो महिला रहेकी खालिदा जियाको मङ्गलबार ८० वर्षको उमेरमा निधन भएको हो । सत्र करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली मुलुकमा उनको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा गहिरो शून्यता सिर्जना गरेको छ ।

अन्त्येष्टिका क्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । हजारौँ सुरक्षाकर्मीको उपस्थितिमा उनको पार्थिव शरीर राष्ट्रिय झण्डाले ढाकिएको गाडीमा राजधानीका मुख्य सडक हुँदै लगिएको थियो । सडकछेउ उभिएका सर्वसाधारणले मौन श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

सेवानिवृत्त सरकारी कर्मचारी मिन्हाज उद्दीनले आफूले कहिल्यै उनलाई मत नदिए पनि तीन पटक प्रधानमन्त्री बन्नुभएकी नेतृप्रति सम्मान प्रकट गर्न आएको बताए। “म मेरो नातिसँग यहाँ आएको हुँ, एक अनुभवी राजनीतिज्ञलाई अन्तिम विदाइ दिन, जसको योगदान सधैँ सम्झिरहनेछ”, उनले भने ।

शोकमग्न शर्मिना सिराजले बेगम जियालाई महिला नेतृत्वको प्रेरणाका रूपमा स्मरण गरे। दुई सन्तानकी आमाले बालिकाहरूको शिक्षाका लागि सुरु गरिएको स्टाइपेन्ड कार्यक्रमले ‘हाम्रा छोरीहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको’ बताए।

लामो समयदेखि खराब स्वास्थ्य र कारावासको पीडाका बाबजुद बेगम जियाले फेब्रुअरी १२ मा तय भएको निर्वाचनमा पार्टीको समर्थनमा सक्रिय रहने प्रतिबद्धता जनाएका थिए । उक्त निर्वाचन गत वर्ष भएको जनआन्दोलनपछि शेख हसिनाको सत्ता पतनपछिको पहिलो मतदान हो ।

उनको नेतृत्वमा रहेको बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) लाई निर्वाचनमा अग्रस्थानमा देखिएको छ । सत्र वर्षको निर्वासनपछि हालै स्वदेश फर्कनुभएका उनका सुपुत्र तारिक रहमानलाई पार्टीले बहुमत पाए सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिएको छ ।

“उहाँ अब हामीबीच हुनुहुन्न, तर उहाँको विरासत जीवित छ र बिएनपी पनि जीवित छ”, अन्त्येष्टि हेर्न परिवारसहित टाढाबाट आएकी जेनी परवेजले भने ।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्दै विस्तृत राजकीय अन्त्येष्टि आयोजना गरेको हो । संसद् भवन बाहिर ठूलो भीड जम्मा भएको थियो, जहाँ निर्धारित समयमै अन्त्येष्टि प्रार्थना सम्पन्न गरियो । युनुसले बङ्गलादेशले ‘एक महान् संरक्षक गुमाएको’ प्रतिक्रिया दिए।

बेगम खालिदा जियाको पार्थिव शरीर उनका दिवङ्गत पति, पूर्व राष्ट्रपति जियाउर रहमानसँगै दफन गरिनेछ । रहमानको सन् १९८१ मा हत्या भएको थियो ।

तारिक रहमानले विज्ञप्ति जारी गर्दै देशले ‘आफ्ना लोकतान्त्रिक आकांक्षालाई दिशा दिने मार्गदर्शक व्यक्तित्व गुमाएको’ बताए। उनको आमाले पटक–पटक गिरफ्तारी, उपचारमा अवरोध र निरन्तर दबाब सहनुपरे पनि ‘उनको साहस र दृढता कहिल्यै नटुटेको’ उल्लेख गरे।

धेरै स्वास्थ्य समस्याबाट ग्रसित बेगम जियालाई नोभेम्बर अन्त्यतिर अस्पताल भर्ना गरिएको थियो । उपचारका बाबजुद अवस्था सुधार हुन नसक्दा उनको निधन भएको हो । यद्यपि, निधन हुनुभन्दा केही घण्टाअघि मात्र पार्टी कार्यकर्ताले उहाँको तर्फबाट आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै बेगम जियाको ‘दूरदृष्टि र विरासतले दुई देशबीचको सम्बन्धलाई मार्गदर्शन गरिरहने’ आशा व्यक्त गरेका छन् । भारतका विदेशमन्त्री डा. एस. जयशङ्कर अन्त्येष्टिमा सहभागी भएको छ, जुन शेख हसिनाको पतनपछि भएको भारतको सबैभन्दा उच्चस्तरीय भ्रमण हो । पाकिस्तानका वरिष्ठ अधिकारीहरू पनि कार्यक्रममा सहभागी भएका छन् ।

हाल भारतमा आश्रित रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनले पनि सामाजिक सञ्जालमार्फत बेगम खालिदा जियाको आत्माको चिरशान्तिका लागि प्रार्थना गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया