२०८२ आश्विन १६ | Oct 02, 2025

खुमा अर्यालले दाङमा बनाइरहेको अस्पताल कात्तिकबाट सञ्चालनमा आउने : लागत साढे २ अर्बबाट बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २०
|
714 views

ललितपुर । दाङको घोराही उपमहानगरपालिका गोग्लीमा बन्दै गरेको एक सय शय्याको सुविधासहित सञ्जिवनी इन्सिट्यूट अफ एड्भान्स स्टडिस एन्ड टिचिङ हस्पिटल आगामी कात्तिकबाट सञ्चालनमा आउने भएको छ । कम्पनीले ५ सय शय्याको सुविधासहितको अस्पताल बनाइरहेको छ ।

कम्पनीले पहिलो चरणमा ३ सय शय्याको सुविधाका साथ अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसमध्ये आगामी कात्तिकबाट सामान्य रुपमा अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको हो । कम्पनीले नर्सिङ र पारामेडिकल कोर्सको सुविधासँगै सेवा दिने जनाएको छ । कम्पनीले आगामी सन् २०२६ को अन्त्यसम्ममा अस्पताल पूर्णरुपमा सञ्चालनमा ल्याउने जनाएको छ । कम्पनीकाअनुसार हाल अस्पताल निर्माणको ६७ प्रतिशत काम सम्पन्न भएको छ भने ४७ प्रतिशत आर्थिक प्रगति भएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले उक्त अस्पताल २ अर्ब ४२ करोड २० लाख रुपैयाँ लगानीमा निर्माण हुने अनुमान गरेको थियो । तर, भवन निर्माणका लागि आवश्यक थप उपकरण र ब्याजको दायित्व बढ्दा अनुमानित लागतभन्दा बढी खर्च हुने उल्लेख गरेको छ ।

अस्पताल निर्माणको लागत बढेसँगै लगानीकर्ताले २८ प्रतिशत इक्विटी थप गरेको कम्पनीको भनाइ छ । अस्पतालको प्रतिशय्या सञ्चालन पुँजी ८० लाभखभन्दा कम रहेको जनाइएको छ । अस्पतालको सञ्चालक अध्यक्ष मेडिकल व्यवसायी खुमाप्रसाद अर्याल हुन् । आफ्नै स्वामित्वको ३ बिघा १५ कट्टा ७.९१९ घुर जग्गामा निर्माण भइरहेको अस्पताल सञ्चालनमा आएपछि विशेषज्ञ चिकित्सा अन्तरगत कार्डियोलोजी, गैस्ट्रोएन्टरोलोजी, युरोलोजी, एमआरआई लागायतका विभिन्न पच्चिस भन्दा बढी र विशिष्टकृत सेवा अन्तरगत पन्ध्र वटा सेवा उपलब्ध हुने जनाइएको छ ।

अस्पतालमा १४ बटा मोडुलर शल्यक्रिया कक्षहरु, आइसीयु, एसआइसीयु, एनआइसीयु, पीआइसीयु लगायतका सुविधा पनि रहने छ । रोल्पा, प्युठान, सल्यान, रुकुम, दांग, अर्घाखाँची, बाँके र कपिलवस्तु गरी आठ जिल्लाबाट दैनिक करिब ७ सय जनाको प्रवाह हुने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया