
ललितपुर । चालु आर्थिक वर्षको अन्तिम समय भइसकेको छ । आर्थिक वर्ष २०८१/८२ सकिनै लाग्दा विकास तर्फको बजेट भने आधा पनि खर्च हुन सकेन ।
महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालू आर्थिक वर्षमा विकासतर्फ अर्थात् पुँजीगत शीर्षकमा जम्मा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएको थियो । तर असार सकिन अब लगभग २ हप्ता मात्र बाँकी हुँदा विकास शीर्षकमा जम्मा १ खर्ब ६४ अर्ब मात्रै खर्च भएको तथ्यांकले देखाएको छ । यसलाई हेर्दा विकास तर्फको बाँकी १ अर्ब ८८ खर्ब रुपैयाँ बजेट खर्च हुन सकेन ।
खर्च भएको १ खर्ब ६४ अर्ब रुपैयाँ खर्च विनियोजन बजेटको तुलनामा ४६.५९ प्रतिशत मात्र हो । यो गत वर्ष २०८०/८१ मा भन्दा पनि कमजोर रहेको सरकारी तथ्यांकले देखाएको छ ।
अर्थमन्त्रालय मातहतको महालेखाकाअनुसार गत आर्थिक वर्षमा सरकारले ३ खर्ब २ अर्बको पुँजीगत बजेट ल्याएको थियो । गत वर्ष यही समयसम्ममा पुँजीगत बजेट ४८.५७ प्रतिशत खर्च गरिसकेको थियो । यसलाई आधार मानेर हेर्ने हो भने चालु आर्थिक वर्ष २०८१/८२ मा देशमा विकासको गति निकै सुस्त रहेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार दुई तिहाइको सरकारले विकास खर्चमा भन्दा चालु आवको अहिलेसम्म ऋणको साबा ब्याजसहित दायित्व भुक्तानीमा ठूलो रकम खर्च गरेको देखाएको छ ।
तथ्यांक अनुसार चालु आर्थिक वर्षमा विकास बजेटमा भन्दा बढी अर्थात् ३ खर्ब ६७ अर्ब बजेट ऋणको दायित्व व्यवस्थापनमा छुट्याएको थियो । जसअन्तर्गत अहिलेसम्म विनियोजित बजेट मध्ये ३ खर्ब ११ अर्ब बजेट ऋणको साँवा ब्याजसहितमा खर्च सरकारले गरिसकेको छ । अर्थात उक्त शिर्षकमा छुट्याइएको बजेट मध्ये करिव ८६ प्रतिशत खर्च भइसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया