
भक्तपुर । नयाँ वर्षको आगामनसँगै भक्तपुर जिल्लामा भने विस्का अर्थात् विस्केट जात्राका रौनक देखिएको छ । भक्तपुरको टौमढीस्थिति पाँचतले मनिदर अगाडिबाट भैरवनाथ र भद्रकालीका रथ तानेर यस वर्षको विस्केट जात्राको सुरुवा गरिएको छ । विहीबारबाट सुरु भएको विस्केट जात्राको छुट्टै खालको ऐतिहासिक एवम् साँस्कृतिक महत्व छ ।
नौ दिन आठ रातसम्म मनाइने बिस्काः अर्थात् बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ । विशेष गरी भक्तपुर जिल्लाका नेवार समुदायले भव्य रुपमा बिस्काः जात्रा मनाउन स्वदेशका परिवार आफन्त मात्रै नभई विदेशमा रहेका आफन्त र परिवार पनि घर फर्कने गर्दछन् । भक्तपुर जिल्लाभरिनै हर्षोल्लासका साथ मनाइने यो जात्रा ऐतिहासिक मात्रै नभई तान्त्रिक एवं धार्मिक विधिमा समेत मनाउने प्रचलन छ ।
विश्वमा नेपालको संस्कृतिलाई चिनाउने महत्वपूर्ण जात्रामध्ये एक मानिने बिस्केट जात्राको पहिलो दिन चैत २८ गते बिहान स्थानीय बासिन्दा, मध्याह्नमा गुठी संस्थानबाट सरकारी पूजा र त्यसपछि टोलको पूजा सकेपछि स्थानीय काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा खड्ग, तरबार, निशान राखिसकेपछि भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु हुने गर्दछ ।
पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैरवको रथलाई ठने ९माथिल्लो० र क्वने ९तल्लो० क्षेत्रमा तानेर लैजाने परम्परा रहेको छ । यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लैजानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । यस वर्ष रथलाई वंशगोपाल पुर्याएर पुनः राति १स्०० बजे गहिटी ल्याएर राखिएको थियो ।
जात्राको मुख्य आकर्षण पहिलो दिन २८ गते र अन्तिम दिन ५ गते रथ तानातान गर्नु हो भने ३० गते ल्यासिंखेलमा ५५ हात लामो लिङ्गो उठाउने र वैशाख १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढालेर मनाउनु हो ।
विस्केट जात्राको इतिहास हेर्ने हो भने विभिन्न फरक खालका पक्षहरु फेला पर्छन् । संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुर टौमढीस्थित यक्षमल्लको पालाको शिलालेखमा बिस्काःलाई विश्व जात्रा भनी उल्लेख गरिएको छ ।
भक्तपुरको राजदरबारमा नेपाल सम्वत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा बिस्क्यात शब्द उल्लेख रहेको छ । अझ त्यसअघि थिमिमा प्राप्त नेपाल सम्वत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको छ ।
बिस्काः जात्रा परापूर्वकालमा दुई दिनमात्र मनाइन्थ्यो । बिस्काः जात्राको मूल जात्रा भनेकै चैत्र शुक्ल मसान्तको दिन विश्वकेतुसहित योसीं द्यः ९लिङ्गो० उठाई त्यसमा एक जोडा ध्वजा फहराउनु अनि वैशाख सङ्क्रान्तिको दिन उक्त योसीं ढाल्नु हो प्रा डा श्रेष्ठ भन्नुहुन्छ । यक्ष मल्लको टौमढीको ने सं ५६१ को शिलापत्रमा यसलाई ‘विश्वजात्रा’ भनिएको छ ।
ने सं ६४१ को भूमिसम्बन्धी तमसुक ताडपत्रमा ‘विसक जात्रा’ उल्लेख छ । ने सं ७१२ देखि जात्रा सम्बन्धमा टिपिएको ने संं ९१८ मा लेखिएको ठ्यासफुमा समेत विश्वजात्रा नै भनिएको उहाँ बताउनुहुन्छ । यता ने सं ८०८ को राजा जितामित्र मल्लको अभिलेखमा ‘विसक्यात’ र भक्तपुरका अर्का राजा भूपतिन्द्र मल्लको मालती चोकको अभिलेखमा पनि बिसक्यात उल्लेख छ ।
लिच्छवी वंशको लामो इतिहासमा प्राचीन भक्तपुर नगरको पतनपछि मध्यकालमा लिच्छवी राजा आनन्द देवले स्थापना गरेको भक्तपुर विशाल नेपालमण्डलकै राजधानीका रुपमा यक्षमल्लसम्म निरन्तर रह्यो । यस अवधिको करिब ३६७ वर्षजति भक्तपुर नेपाल मण्डलकै राजधानी रहेको थियो ।
त्यतिबेला भक्तपुर नगरको वरपर प्रशस्त जङ्गल रहेको हुँदा सबैतिरबाट जात्रा हेर्न सकियोस् भनेर ठूलो र अग्लो काठको लिङ्गो उठाउने गरियो । जसमा पछि एक जोडा ध्वजा थपियो । यसरी दुई दिनमात्र चल्ने जात्रामा काशी विश्वनाथ र भद्रकालीकोसमेत जात्रा गर्ने प्रचलन मल्लकालको मध्यतिर सुरु भएको भनाइ छ ।
भक्तपुरका राजा राय मल्लको समयमा भक्तपुर अधीनस्थ कैयौँ राज्य स्वतन्त्र हुँदै भक्तपुरको भूभाग सानो हुँदै गएकालाई उनका छोरा भुवन मल्लले आफ्नो अधिकार भएको टोखा, सुनाकोठी, थिमि, नगदेश, बोडे, साँगा, श्रीखण्डपुर चौकोटजस्ता ठाउँहरुमा समेत बिस्काः मनाउने चलन चलाएको बताइन्छ ।
भक्तपुरको बिस्काः जात्रालाई भैरव र भद्रकालीको रथ बनाई जात्रा चलाउनेदेखि अन्य देवदेवीहरुको समेत जात्रा पूजापर्व गर्ने परम्परा बसाल्न भक्तपुरका विश्व मल्ल, गङ्गारानी, जगज्र्योति मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्लको योगदान रहेको बताइन्छ ।
अहिलेसम्म तलेजुमा बिस्काः जात्राको सङ्कल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिने बताउदै उहाँले संस्कृत शब्द विश्वकेतु पछिल्लो कालखण्डमा नेवारी नामकरणअनुसार बिसिक, बिस्क हुँदै बिस्का हुन पुगेको प्रा डा श्रेष्ठ बताउनुहुन्छ । त्यसैको बिस्काबाट अपभ्रंश भएर बिस्केट हुन पुगेको उहाँको भनाइ छ । नेवारीमा अहिले पनि यो जात्रालाई बिस्काः जात्रा भन्ने गरिन्छ । विक्रम सम्वत्अनुसार सौरमासका आधारमा चल्ने बिस्केट जात्रा बिःसीत ९नागनागिन मर्यो० भन्ने भावका आधारमा लिच्छवीकालदेखि मनाउँदै आएको हो भन्ने पनि भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया