ललितपुर । चार दिनदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउन बन्द भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पानीको अवरोध हटाइदिन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई आग्रह गरेका छन् ।
उनले वार्ता र छलफलबाट माग सम्बोधन गरिने आवश्वासन दिँद तत्काल मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई आग्रह गरेका हुन् ।
गत २०८१ असोज महिनामा हेलम्बु गाउँपालिकाका स्थानीयसँग तत्कालीन सरकारले गरेको सहमति कार्यान्वयन गरिनु पर्ने भन्दै आयोजना प्रभावितले मुहान बन्द गर्दा काठमाडौं उपत्यकाकामा खानेपानी आउने रोकिएको विषयलाई लिएर आज मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि आवश्यक पहल र सहयोग गरिदिन आग्रह गरेका हुन्।
आयोजना प्रभावितका समस्याको सुनुवाइ हुने र समस्याको समाधान वार्ता र छलफलबाट गरिने आवश्वासन दिँदै मन्त्री घिसिङले तत्काललाई अवरोध हटाइदिन शेर्पासमक्ष आग्रह गरेका हुन् । प्रधामन्त्री शुशीला कार्कीले सोमबार मेलम्ची खानेपानीमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएसँगै घिसिङले पालिका अध्यक्ष शेर्पालाई भेटेका हुन् । हाल खानेपानी मन्त्रालयका जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छिन् ।
विगतमा गरिएका सहमति र हाल राखिएका माग वार्ता र छलफलबाट समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै मन्त्री घिसिङले मेलम्चीबाट पानी आउन बन्द हुँदा काठमाडौं उपत्यकामा खानेपानीको समस्या देखिन थालिसकेकाले यसमा गम्भीर बनिदिन आग्रह गरे। उनले समास्या समाधान गरी जतिसक्दो छिटो काठमाडौं उपत्यकामा खानेपानी ल्याउन सरकार लागिपरेको बताए।
उपत्यकामा देखिएको खानेपानीको समस्या जतिसक्दो छिटो समाधान गर्न सरकार लागि परेको र यस जटिल परिस्थितिमा सबैले आ–आफ्नो तर्फबाट सहयोग गरिदिनुुहुन समेत आग्रह मन्त्री घिसिङले आग्रह गरेका छन् ।
त्यसैगरी हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले भने विगतमा गरिएका सम्झौता सरकारले कार्यान्वयन गर्नुपर्ने बताए। आयोजनाले लिएको जग्गा तथा घरभाडा, विगतको निर्माण व्यवसायी सिएमसीका सामान आपूर्तिकर्ता पाउनु पर्ने रकम भुक्तानी गर्नु पर्ने, मेलम्ची बजारदेखि–मेलम्ची घ्याङसम्मको सडक निर्माण गरिनुपर्ने, मेलम्ची नदीबाट पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणका आधारमा काठमाडौं उपत्यकाका खानेपानी लिले बिक्री गरेबापतको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनु पर्ने बताए ।
मुहान क्षेत्रका बासिन्दाको माग पुरा नहुँदा उपत्यकामा ४ दिनदेखि मेलम्चीको उपत्यकामा पथान्तरण रोकिएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया