२०८२ आश्विन १६ | Oct 02, 2025

दशैंको मुखमा १५ हजार रोजगारी प्रभावित, उद्योग व्यवसायमा करिव ३६ अर्बको क्षति : सीएनआई

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १
|
714 views

ललितपुर । गत भदौ २३ गते भएको जेनजीको प्रदर्शन र त्यसको भोलिपल्ट २४ गतेको आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीबाट देशका विभिन्न ठाउँमा करिव १५ हजार रोजगारी प्रभावित भएको प्रारम्भिक अनुमान छ । क्षतिको विवरण संकलन गर्ने क्रममा २४ गतेको तोडफोडबाट नेपाल उद्योग परिसंघ (सीएनआई) मातहतका उद्योग व्यवसायमा मात्र करिब ३६ अर्ब रुपैयाँ बराबरको क्षति प्रारम्भिक अनुमान गरिएको हो ।

यसअन्तर्गत विभिन्न होटल सुपरमार्केट, कम्पनी लगायत अन्य व्यवसायमा ध्वस्त हुँदा देशले ठूलो नोक्सानी व्यवहोर्नु परेको छ । तर, क्षतिको विवरण आउने क्रम जारी रहेको र मूल्यांकनको काम भइरहेकाले क्षतिको संख्या र रकम अझै बढ्ने अनुमान गरिएको सीएनआईले जनाएको छ ।

२५ गते को आन्दोलनबाट मुलुकभर सञ्चालनमा रहेका ती उद्योग व्यवसायमा क्षति पुग्दा करिब साढे १५ हजार रोजगारी प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक सीएनआईको प्रारम्भिक अनुमान छ । परिसंघअन्तर्गत केन्द्रमा ३ सय ५० साना तथा मझौला उद्यमी सदस्य रहेका छन् भने मुलुकभर करिब ७ हजार सदस्य छन् ।

प्रर्दशनपछिको आन्दोलनका क्रममा धेरैलाई रोजगारी दिँदै आएको भाटभटेनी सुपरमार्केटले सबैभन्दा बढी क्षति व्यहोरेको छ । मुलुकभर जम्मा २१ वटा भाटभटेनी सञ्चालनमा आएकामा २१ वटामा क्षति पुगेको छ । तीमध्ये १२ वटा पूर्णरुपमा ध्वस्त भएका छन् र ती तत्काल सञ्चालनमा आउने अवस्थामा छैनन् । बाँकी ९ वटामा भने तोडफोड भएको छ । तिनलाई भने चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । हाल भाटभटेनी सुपरमार्केटमा कार्यरत करिव १० हजारको संख्यामा रोजगारी गुमेको छ ।

यस्तै, रोजगारी प्रदान गरिरहेका होटेल तथा पर्यटन क्षेत्र, चौधरी ग्रुप, चन्द्रागिरी केवलकार, मौलाकालीका केबलकारलगायत संस्थाले प्रदान गरेको रोजगारीको संख्यालाई मात्र पहिलोचरणमा गणना गरिएको हो । यसरी हेर्दा देशका थुप्रै उद्योग व्यवसाय, व्यापारिक मलमा नराम्ररी क्षति पुगेकाले प्रत्यक्ष रूपमा रोजगारी प्रभावित हुने संख्या अझै बढ्न सक्ने देखिन्छ ।

त्यसैगरी होटल संघ नेपाल (हान)को पछिल्लो तथ्यांकअनुसार नेपालका विभिन्न होटलहरुमा पुगेको क्षतिका कारण अन्य करिव दुई हजारको संख्यामा रोजगारी प्रभावित भएको बताएको छ । आन्दोनलका क्रममा करिब २५ होटलले आक्रमणबाट क्षति खेप्नुपरेको र दुई हजार कर्मचारी तथा कामदारको जागिर प्रभावित भएको प्रारम्भिक अनुमान हानले गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया