
ललितपुर । गोँगबुस्थित नयाँबसपार्कमा चाडपर्वमा घर जाने यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौँ महानगरपालिकाले यात्रु सहायताकक्षबाटै निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो ।
काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभागका सिनियर अहेव दमनबहादुर नेगीले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्यजाँच सुरु गरेको जानकारी दिए । महानगरपालिकाले उक्त कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडापखालाको औषधि वितरण गरिरहेको नेगीले बताए । उक्त सेवा दसैँभरि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।
उक्त कक्षको आज काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारी र काठमाडौँ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले शुभारम्भ गरेका थिए । नयाँबसपार्कमा हुने भीडभाड नियन्त्रणका लागि महानगर प्रहरीसमेत परिचालन गरिएको छ । उक्त प्रहरीले भीडभाड नियन्त्रणका साथै यात्रुहरुलाई सहजै रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सहजीकरण गर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया