२०८२ फाल्गुन ६ | Feb 18, 2026

पहिलो पटक संयुक्त राष्ट्रसङ्घमा नेपालको विशेष प्रस्तुती

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ६
|
1.2k views

ललितपुर । दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घमा शुक्रबार ध्यानसम्बन्धी अलग-अलग दुई कार्यक्रम आयोजना गर्यो ।

नेपालको तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापकद्वय रमेश नेपाल र एलपी भानु शर्माले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा ‘विश्वव्यापी शान्ति र सद्भावका लागि ध्यान’ विषयमा विशेष प्रवचन,योगाभ्यास एवं ध्यान गराएका थिए।

प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिमा सो कार्यक्रमबाट नेपाल उद्गमस्थल रहेको योग, ध्यान, समाधिलगायतका आध्यात्मिक चेतना विश्वभर प्रचारप्रसार गर्न सहयोग पुगेको जनाइएको छ । ‘विश्वव्यापी शान्ति र सद्भावको लागि ध्यान’ कार्यक्रममा गुरु भानुले आधुनिक विश्वका चुनौतीहरूको सामना गर्न प्रत्येक मानवको मन स्थिर हुनुपर्ने स्पष्ट पार्दै त्यसका लागि ध्यान गर्न आह्वान गरे ।

संयुक्त राष्ट्रसङ्घले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा मनाउन थाल्नु वैश्विक चेतनाको ऐतिहासिक क्षण भएको जनाउँदै उहाँले परम्परागत कूटनीति र नीति निर्माणसँगै अब आन्तरिक जागरण, ध्यान र मानसिक स्वास्थ्यलाई पनि विश्व शान्तिको पूर्वाधारका रूपमा स्वीकार गरिएकामा खुसी व्यक्त गरे।

उनले भने, “ध्यानको अभ्यासले मात्र विश्वव्यापी शान्ति निर्माणमा निर्णायक भूमिका खेल्छ । शान्ति र द्वन्द्व समाधानमा आन्तरिक रूपान्तरणको अपरिहार्यता हुन्छ । बुद्ध भूमि नेपाललाई पूर्वीय ज्ञान र आधुनिक विज्ञानको सेतुका रूपमा प्रस्तुत गर्नुपर्दछ । ध्यानको प्रायोगिक रूपान्तरण, नेपालद्वारा विश्वलाई जागरणको आह्वान र मानसिक स्वास्थ्यलाई वैश्विक पूर्वाधारका रूपमा विकास गरिनुपर्छ । ”

कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, एण्डोरा र मेक्सिकोका संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधिले ध्यान दिवसको महत्वबारे चर्चा गरेका थिए । कार्यक्रममा एलपी भानु शर्मासँगै भारतका रवि शङ्करलगायत विभिन्न देशका गुरु समेत प्रस्तुति थियो ।

यस्तै संयुक्त राष्ट्रसङ्घको मुख्यालयमै विभिन्न समुदायका लागि नेपालले आयोजना गरेको ‘जागृत मनः शान्ति, स्वास्थ्य र सद्भावको बाटो’ कार्यक्रममा सहभागीलाई गुरु रमेश नेपालले ध्यानका महत्वका बारेमा विशेष प्रवचन दिनुहुँदै सहभागीलाई ध्यान तथा योगाभ्यास गराउनुभएको थियो । सो अवसरमा उहाँले ध्यानले शरीरमा रहेको शक्ति जगाउने र सक्रिय गराउने बताए। उनले भने, “ध्यानले मनलाई शान्ति र सकारात्मकता दिन्छ । जीवनी शक्ति सबल बनाउने ध्यानको उद्देश्य हो । ”

उनले ध्यानको अभ्यासलाई मानिसको दैनिक जीवनसँग जोड्नसके संसारबाट अशान्ति, कलह र तनावको अन्त्य हुने जनाउँदै ध्यानलाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा गुरु भानुले ध्यानका विभिन्न आयामको चर्चा गर्दै व्यक्तिभित्रका सम्भावना जगाउन शरीरका ऊर्जा केन्द्रहरू चिन्ने र सक्रिय गराउने स्वजागरण अभियान विश्वभर प्रयोग गर्नुपर्ने बताए। यसका लागि नेपालका तर्फबाट जीवन विज्ञानले स्वजागरण अभियान सुरु गरेको जानकारी दिए।

सो कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अटुल खरे, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी गुरुमालगायत विभिन्न देश र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा घोषणा गरेको विश्व ध्यान दिवस हरेक वर्ष डिसेम्बर २१ मा मनाइन्छ ।

जीवन विज्ञानका सचिव किरण रुपाखेतीद्वारा जारी विज्ञप्तिमा यस कार्यक्रमबाट नेपाल उद्गमस्थल रहेको योग, ध्यान, समाधिलगायतको आध्यात्मिक चेतना विश्वभर प्रचारप्रसार हुने उल्लेख छ । साथै यसबाट परापूर्वकालदेखि प्रयोग र अभ्यास हुँदै आएका अध्यात्म, आयुर्वेद र प्राकृतिक चिकित्साबाट विश्वले लाभ लिन सक्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया