२०८२ फाल्गुन ६ | Feb 18, 2026

पुनः निर्माण कोषमा जम्मा भयो ६ करोड ७ लाख रुपैयाँ सहयोग

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ३१
|
1.5k views

ललितपुर। गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी संरचनाको पुनः निर्माण गर्न बनाइएको भौतिक पूर्वाधार पुनः निर्माण कोषमा करिव एक महिनाको समयावधिमा ६ करोड ७ लाख सहयोग प्राप्त भएको छ ।

अन्तरिम सरकारले गत असोज ८ गते स्थापना गरेको उक्त पुनः निर्माण कोषमा २२ दिनको अवधिमा ६ करोड ७ लाख सहयोग जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारी संरचना पुनः निर्माणको लागि स्रोत व्यवस्थापन गर्न खोलिएको उक्त कोषमा अपेक्षित रकम संकलन हुन सकेको अर्थमन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार सबै पक्षको सहभागितामा पुनः निर्माण कार्य अघि बढाउन स्थापना गरिएको कोषमा असोज ३० गतेसम्म जम्मा ६ करोड ६ लाख रुपैयाँ प्राप्त भएको बताए । उनले भने, “जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति भएका सरकारी संरचना पुनः निर्माणको लागि कोष स्थापना गरिएको हो । सरकारको उद्देश्य पुनः निर्माण कार्यमा सबै जनाको सहभागिता होस् भनेर कोष बनेको हो ।’

यसअघि विभिन्न प्राकृतिक विपत्ति आइपरेका बेलामा यसैगरी सरकारले आह्वान गर्ने गरेको दैवी प्रकोप उद्धार कोषमा निजी क्षेत्रले ठुलो सहयोग गर्ने गरेका थिए । तर यस पटक व्यापारिक प्रतिष्ठानहरु माथि नै ठूलो क्षति भएकाले उद्योगी–व्यवसायीको समूहबाट कोषमा रकम सहयोग भएको छैन । त्यसले पनि सरकारको अपेक्षा अनुसार सहयोग नजुटेको पाण्डेयले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया