२०८२ आश्विन १६ | Oct 02, 2025

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १९
|
51 views

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी र प्रतिनिधिसँग अन्तरक्रिया गरेका छन् ।  स्पेनको सेभियामा संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्त सम्मेलनसँग सम्बन्धित कार्यक्रम सकिएपछि हाल मेड्रिडमा रहेका प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष ओलीसँग प्रवासी नेपाली मञ्चका पदाधिकारीले भेट गरेका थिए ।
स्पेनका लागि नेपाली राजदूतको निवासमा भएको भेटमा एमाले निकट मञ्चका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीलाई स्पेनमा स्वागत र सम्मानसहित प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालमा भइरहेको विकास र समृद्धिको यात्राको सफलताको कामना पनि गरेका थिए ।
प्रधानमन्त्री ओलीले विदेशमा सिकेको ज्ञान, अनुभव र पुँजीलाई स्वदेशको विकास र समृद्धितर्फ प्रयोग गर्नेक्रम चलिरहेकाले नेपालमा फर्केर उपयुक्त पेसा व्यवसायमा संलग्न हुन आग्रह गरे । अध्यक्ष ओलीले मुलुकमा स्थिरता र विकासका लागि दुई ठुला दलको सहकार्यमा वर्तमान सरकार बनेको स्पष्ट गर्दै आफूहरूबीच भएको समझदारीबमोजिम समय आउनु केही साता अघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले विषम परिस्थितिमा पनि आफूहरुले मुलुकलाई राजनीतिक निकास र स्थायित्व दिँदै आएको विगतलाई स्मरण गर्दै आगामी दिनमा पनि सहज निकास दिइने बताए । अहिलेको गठबन्धन र आफ्नो पार्टीभित्र बाहिर चर्चामा आएजस्तो कुनै समस्या र विवाद नभएको पनि उनले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया