
ललितपुर । सीजी समूह (चौधरी ग्रुप)का प्रबन्ध निर्देशक निर्वाण चौधरीले भदौ २३ र २४ गतेको घटना इतिहासमै सबैभन्दा पीडादायी क्षण भएको बताएका छन् । फेसबुकमा सन्देश लेख्दै उनले केही दिनअघि सुरु जवाफदेही र सुधारको मागसहितको युवा आन्दोलनलाई बाह्य शक्ति र अराजक समूहले हिंसा र तोडफोडतर्फ मोडिदिएको उल्लेख गरेका छन् ।
चौधरीले सन्देशमा भनेका छन्, “हो, हामी घाइते छौँ । हो, हामी हल्लिएका छौँ, तर हामी भंग भएका छैनौँ । दुष्कर्मीहरूले हाम्रो भवन जलाउन सक्छन्, तर हाम्रा सपना जलाउन सक्दैनन् । उनीहरूले शो रुम लुट्न सक्छन्, तर हाम्रो मूल्य लुट्न सक्दैनन् । हाम्रो परिवारको एकतालाई कसैले भंग गर्न सक्दैन ।”
सन्देशमा चौधरीले सीजी समूहको योगदान स्मरण गराउँदै भनेका छन्, “हामी नेपालका सबैभन्दा ठूलो करदाता, एक प्रमुख रोजगारीदाता र राष्ट्र निर्माणमा समर्पित संस्था हौँ । भूकम्प, बाढी वा महामारीजस्ता संकटमा सधैं अग्रपंक्तिमा उभियौँ । यो जिम्मेवारी अहिले पनि त्यागिएको छैन ।”
उनले अगाडि भनेका छन्, “हामी पुनर्निर्माण गर्छौं, पुनः उठ्छौँ र अझ बलियो भएर अघि बढ्छौँ । यो विपत्तिबाट नयाँ शक्ति, नयाँ विचार, नयाँ प्रणाली र नेपाली जनताप्रतिको अझ गहिरो प्रतिबद्धता जन्मिनेछ । इतिहासले हाम्रो विनाशलाई होइन, त्यसपछि हामी कसरी अझ गौरवपूर्ण र एकतामा उदायौँ भन्ने कुरा सम्झनेछ ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया