२०८२ फाल्गुन ६ | Feb 18, 2026

भूमिहीनलाई प्राथमिकता राखी सुकुम्बासी व्यवस्थापन गर्न लगत संकलन सुरु

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ९
|
765 views

ललितपुर । सरकारले भूमिहीन वास्तविक सुकुम्बासीको पहिचानका लागि लगत संकलन सुरु गरेको छ । देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले उनीहरूको पहिचान तथा लगत सङ्कलन सुरू गरेको हो ।

देशभरका भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनीहरूको व्यवस्थापनका लागि अव्यवस्थित बसोबास भएका समुदायको उचित व्यवस्था गर्ने मुख्य उद्देश्यले जिल्लाका स्थानीय तहसँग समन्वय गरी लगत तयार गर्न लागिएको मन्त्रालयका सहायक प्रवक्ता दामोदर वाग्लेले जानकारी दिएका छन् । वाग्लेका अनुसार वास्तविक भूमिहीनको लगत लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको छ ।

यता मन्त्रालयले पनि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको सिफारिस गर्दा स्थानीय तहलाई प्रभावकारी रूपमा अध्ययन तथा मापदण्डको प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । भूमिहीन सुकुम्बासीको व्यवस्थापन राज्यको दायित्व भएको बताउँदै उनले सरकारले सुकुम्बासी व्यवस्थापनका क्रममा ‘भूमिहीन दलित’ लाई प्राथमिकता राख्ने उल्लेख गरे।

“सामान्यतया ‘भूमिहीन सुकुम्बासी’ र ‘अव्यवस्थित बसोबासी’ लाई ‘सुकुम्बासी’ भन्ने गरिए पनि कानुनी रुपमा भने अर्थ फरक छ । देशभर कहीँकतै जमिन नभएका परिवार तथा परिवारको आय आर्जन, स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति र निजप्रति आश्रित परिवारका सदस्यलाई ‘सुकुम्बासी’ भनिन्छ”, प्रवक्ता वाग्लेले भने ।

देशको कुनै पनि स्थानमा जमिन भएर पनि अन्यत्र कतै दशकौँदेखि आवादी गरी बसेका जग्गा जमीन उनीहरूको नाममा दर्ता नभएका परिवारलाई अव्यवस्थित ‘बसोबासी’ भनिन्छ । उनीहरूको जमिनलाई सरकारले मूल्याङ्कन गरी तोकिएको राजस्व लिएर जग्गा धनी पूर्जा प्रदान गर्ने उनले जानकारी दिएका छन् ।

लामो समयदेखि बसेका उनीहरूलाई यसरी व्यवस्थित गर्दा सरकारलाई धेरै राजस्व प्राप्त हुने जनाइएको छ । यस्ता बसोबासी व्यवस्थापन गर्दा जङ्गल तथा सार्वजनिक स्थल अतिक्रमण गरी बनाइएका बस्ती उनीहरूलाई दिइने छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया