२०८२ आश्विन १६ | Oct 02, 2025

मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश जारी, अब युवाहरूको मतदाता नामावली संकलनको बाटो खुल्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ८
|
1.9k views

ललितपुर । मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश जारी गरेसँगै अब निर्वाचन आयोगलाई नयाँ मतदाताको नाम संकलन गर्न बाटो खुलेको हो । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

अध्यादेश जारीसँग अब मतदाता नामावलीमा नाम छुटेकाहरुले आफ्नो नाम दर्ता गराउन पाउने भएका छन् । त्यसभन्दा अगाडि निर्वाचन आयोगले त्यस सम्बन्धी निर्णय गरेर मतदाता नामावली संकलनको मिति भने तोक्नु पर्नेछ ।

यसअघिको कानुनअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न मिल्ने थिएन । मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ बमोजिम चुनावको मिति घोषणा भइसकेपछि सोही निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाइने व्यवस्था उल्लेख थियो ।

तर अब योे अध्यादेश जारी भएपछि कानुन बमोजिम मतदान गर्न योग्यता पुगेकाहरुको नामावली संकलनको लागि बाटो खुलेको छ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक निर्णय गर्ने भएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् । यसअघि गत आइतबार निर्वाचन अयोगले मतदाता नामावली संकलनका लागि बाटो खुलाइदिन माग गर्दै गृह मन्त्रलायलाई पत्राचार गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया