२०८२ आश्विन २० | Oct 06, 2025

मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु, जनजीवन सामान्य बन्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २०
|
459 views


ललितपुर । अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज मध्यान्हसम्मको विवरणअनुसार मनसुनजन्य विपद्बाट मुलुकभर ६ जना बेपत्ता भएका छन् भने २४ घाइते भएका छन् । सशस्त्र प्रहरी बलले भने मनसुनजन्य विपद् र यहीबीचको सवारी दुर्घटनासमेत गरी हालसम्म ५५ जनाको मुत्यु भएको जनाएको छ ।

कोसी प्रदेशको इलाममा मात्रै पहिरोमा परी ३७ जनाको निधन भएको छ । सो प्रदेशमा पहिरो तथा डुबानका कारण इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा मानवीय क्षति भएको छ । विपद् जोखिममा परेका १८ जनालाई यसबीचमा नेपाली सेनाको होलीकोप्टरबाट उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाअनुसार गए रातिसम्मको विवरणमा सवारी दुर्घटनासमेत गरी कोसी प्रदेशमा मात्रै विभिन्न २२ घटनामा ४९ जनाको मृत्यु, एक बेपत्ता र १७ जना घाइते भएका छन् । झापाको झापा गाउँपालिकामा ४९० घरधुरी डुबानबाट प्रभावित भएकामा एक हजार ६६४ जनालाई सुरक्षित स्थानामा स्थानान्तरण गरिएको थियो । झापाको गौरीगञ्जमा १०५ घरमा पानी पसेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लगिएको थियो ।

अविरल वर्षा, बाढी र पहिरोका कारण सबैभन्दा बढी मानवीय क्षति भएको कोसी प्रदेशको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । सो प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पूर्वतयारी र विपद्पश्चात उद्धार तथा सहयोगका काम गरेको थियो । जल तथा मौसम विज्ञान विभागको पूर्वसूचनाका आधारमा सरकारको पूर्वतयारी प्रभावकारी भएकाले थप मानवीय क्षति हुन पाएन् ।

सुरक्षा निकायले मानवीय जीवनलाई पहिलो प्राथमिकतामा राखेर उद्धारका काम गरेको र पानी रोकिएकाले अहिलेसम्म उद्धारका काम पूरा भएको सुरक्षा निकायका कोसी प्रदेशका प्रमुुखहरुले बताएका छन् । झापाको आयरल्याण्डमा परेकालाई तथा पाँचथर र सङ्खुवासभाबाट गर्भवतीलाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । कोसीमा पानीको बहाव आइतबार प्रतिसेकेण्ड पाँच लाख ३३ हजार क्युसेक रहेकामा आज दुई लाख ७७ क्युसेकमा झरेको छ ।

नेपाली सेनाका उपरथी एवं पूर्वीपृतनापति गौरवकुमार केसीका अनुसार पानी पर्न रोकिएकाले जनजीवन सामान्य हुँदै गएको र प्रभावित क्षेत्रमा आवश्यकतानुसार उद्धारको काम भइरहेको छ ।

नेपाल प्रहरीका कोसी प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले जनजीवन समान्यतर्फ उन्मुख भएको बताएका छन् । उनले आज इलामबाट घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको र अबको काम इलामको लाइफलाइनका रूपमा रहेका सडकलाई पुनःसञ्चालन गराउन केन्द्रित भएको बताए । उनले प्रदेशका अन्य जिल्लामा पनि पहिरोबाट प्रभावित सडकलाई खुलाउन प्रहरी केन्द्रित भएको बताएका छन् । उक्त क्षेत्रमा बाढीबाट मानवीय क्षति हुन पाएको छैन । राहत वितरणको काम कानुनबमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट भइरहेको छ ।

सशस्त्र प्रहरी बलका कोसी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले उद्धारका काम सकिएपछि पुनःस्थापनाका लागि काम भइरहेको बताएका छन् । इलाममा बाढी तथा पहिरोबाट सात ठाउँमा सडक अवरुद्ध भएकाले गृहमन्त्री ओमप्रकाश अर्यालसहितको केन्द्रीय टोली आज स्थलगत अवलोकनका लागि त्यसतर्फ जान सकेन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया