२०८२ फाल्गुन ६ | Feb 18, 2026

लामिछाने र जोशीको मुद्दामाथि फाइल माग

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २०
|
969 views

ललितपुर । पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीको मुद्दामाथि उच्च अदालत बुटवलमा आज भएको सुनुवाई पछि इजलाशले रुपन्देही जिल्ला अदालतबाट पठाइएका आदेश तथा कागजातहरू माग गर्ने आदेश गरेको छ ।
बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले उनीसँगै जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीसम्बन्धी मुद्दाका सबै फाइल र आदेश जिल्ला अदालत रुपन्देहीबाट झिकाउने आदेश गरेको हो । फाइल आएपछि लामिछानेले बिगोबराबर रकम बुझाएर थुनामुक्त हुन पाउने मागमाथि सुनुवाइ हुने छ । सुनुवाइका क्रममा मिसिल अपुग भएकाले अर्को पेशी तोकिएको छ । नयाँ मिति भने तय गरिएको छैन । यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया