
ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षाकर्मीको मनोबल उच्च बनाउँदै शान्तिसुरक्षाको अवस्थालाई मजबुत, शान्ति सुरक्षा र सुशासनका सवालमा गम्भीर बन्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा आगजनी र तोडफोड भएका सरकारी संरचनाको पुनर्निर्माणमा विशेष ध्यान दिँदै शान्तिसुरक्षा र सुशासनका सवालमा गम्भीर बन्न आग्रह गरिएको छ ।
“क्षति भएका निजी सम्पत्तिको आँकलन गर्न र यसप्रकारका हिंसात्मक घटना हुनाका कारणको पहिचान गर्दै भविष्यमा पुनः दोहोरिन नदिने वातावरण बनाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “साथै, विकसित परिस्थितिमा सरकारले चाल्ने सुधारका कदममा सहयोग पु¥याउन आयोग सम्बद्ध सबै पक्षलाई अनुरोध गर्दछ ।”
आयोगले घटनापश्चात् सुरक्षाकर्मीको मनोबल कमजोर हुँदा शान्तिसुरक्षामा थप चुनौती सिर्जना हुनसक्ने अवस्था सिर्जना भएको र सुरक्षाकर्मीका भवन जलेर नष्ट भएको, प्रहरीका कतिपय भवन मर्मत÷निर्माण गर्न समुदायले सहयोग गरेको भए पनि सबै कार्यालय पुनर्निर्माण हुन नसक्दा सुरक्षालगायत प्रहरीबाट प्रदान गरिने सेवा प्रवाहमा बाधा उत्पन्न हुन पुगको जनाएको छ ।
यस्तै, कारागार तथा बालसुधार गृहबाट बाहिर निस्केका बन्दीहरूको फिर्ती तथा कारागार व्यवस्थापनमा गम्भीर समस्या देखिएको जनाएको छ । “आगलागी र तोडफोडका क्रममा केही व्यक्तिको जलेरसमेत मृत्यु भएको, सरकारी अभिलेख जलेको, भौतिक सम्पत्तिमा क्षति पुगेको, सुरक्षाकर्मीका हातहतियार लुटिएको र कतिपय सामान चोरी र लुटपाटसमेत गरिएको पाइएको छ”, विज्ञप्तिमा भनिएको छ, “शैक्षिक संस्थाहरूमा क्षति पुग्दा बालबालिकाको पठनपाठनमा बाधा उत्पन्न हुनुका साथै बाल मनोविज्ञानमा असर परेको छ । यस विषयमा पनि सम्बद्ध सबै गम्भीर बन्न आवश्यक छ ।”
भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका एजेण्डासहित गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधनको क्षति र घटनापश्चात् मानवअधिकारको अवस्थाका बारेमा आयोगले देशभर निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।
आयोगले आगजनीबाट महत्त्वपूर्ण सरकारी भवन, पार्टी कार्यालय, निजी घर, व्यावसायिक भवन, शैक्षिक संस्था, सञ्चारगृह र प्रहरी कार्यालयमा अत्यधिक क्षति पुगेको देखिएको जनाएको छ ।
प्रदर्शनको पहिलो दिनको सुरुमा शान्तिपूर्ण प्रदर्शन भए पनि मध्याह्नपश्चात् आगजनीका घटना र प्रदर्शनकारीमाथि गोली प्रहारबाट केही प्रदर्शनकारीको मृत्यु भएर घटना हिंसामा परिणत भएको देखिएको आयोगको भनाइ छ । पहिलो दिनको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट प्रदर्शनकारीको मृत्यु भएका कारण दोस्रो दिन अन्धाधुन्धा आगजनी र तोडफोड भएको अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया