२०८२ फाल्गुन ६ | Feb 18, 2026

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २०
|
204 views

ललितपुर । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने गरी तय भएको छ ।

आज बस्न लागेको प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

त्यसैगरी राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ।

यस्तै आजको राष्ट्रियसभाको बैठकमा भने उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत आजको राष्ट्रियसभा बैठकमा प्रस्तुत हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया