२०८२ फाल्गुन ६ | Feb 18, 2026

सडक डिभिजनको अपिल : विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गर्नु खेदजनक

BusinessPati बिजनेस पाटी
|
२०८० फाल्गुन २१
|
306 views

काठमाडौँ २१ फागुन २०८० 

विगत २४ घण्टामा सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्बिर राखी सामाजिक सञ्जालमा अतिरञ्जित प्रतिक्रियाबारे सडक डिभिजन काठमाडौँको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै विभागले शनिबार सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडेर अतिरञ्जित गर्नु खेदजनक भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, यस डिभिजनसँग सडक विभागको परिसरमा स्तरोन्नति गर्ने कामका निमित्त सम्झौता गरेको निर्माण व्यवसायीले मिति २०८०/११/१९ गते शनिबार सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गर्नु खेदजनक छ ।

यस्तै सो सडकको निर्माणलाई प्राथमिकतामा राखिएको र निर्माण व्यवसायी पनि समय अगावै निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिरहेको सन्दर्भमा निर्माणाधीन सडकमा आएको समस्यालाई लिएर वास्तविकता नबुझी तथा यस किसिमका स्वाभाविक समस्यालाई बुझी बुझी पनि बुझ पचाउने, आफूलाई पूर्वाधार विज्ञ सम्झिने, स्वघोषित विज्ञहरूले भाइरल हुनका निम्ति यस किसिमको हर्कत गर्नु अझ दुर्भाग्य भएको विभागको भनाइ छ ।

सडक विभाग, सडक डिभिजन काठमाडौँ मातहतका सडकहरूमा खाल्डा रहित बनाउने अभियानमा जुटेको संस्थालाई यस किसिमको हर्कत भनेको मनोबल गिराउने, समाजमा नकारात्मक सन्देश फैलाई देशमा केही राम्रो काम हुँदैन, सबैतिर यस्तै हो भन्ने खालका टिप्पणीले विद्यार्थीदेखि सबैमा नकारात्मक मनोभाव उत्पन्न भै विदेशिने कारण मध्ये यस्तै हर्कत पनि मुख्य रूपमा आएको छ, विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तसर्थ, सामाजिक सञ्जालमा आएका यस किसिमका अतिरञ्जित प्रतिक्रियाप्रति सजग रहि वास्तविकता बुझेर मात्र प्रतिक्रिया दिन सरोकारवाला तथा सर्वसाधारणमा सडक डिभिजन काठमाडौँका सुचना अधिकारी ई. प्रमोद खतिवडाको हस्ताक्षरमा जारी विज्ञप्तीमा अपिल गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया