२०८२ फाल्गुन ६ | Feb 18, 2026

सर्वदलीय बैठकबाट विवाद टुङ्गिएसँगै वीरगञ्जमा ‘कर्फ्यू’ हटाइयो

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २२
|
969 views


ललितपुर । सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको ‘कर्फ्यू’ पनि आज ३ः३० बजेदेखि हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता गरेसँगै कफ्र्यू हटाउने निर्णय भएको जानकारी दिएका छन् ।

सो बैठकले आन्दोलनरत पक्षले विरोध प्रदर्शन गर्नुअघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र पेस गर्न जोड दिने, तत्पश्चात् मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताइएको छ । प्रजिअ दाहालका अनुसार सो स्थायी सद्भाव संयन्त्रमा हिन्दू समुदायका तर्फबाट रञ्जित साह, रञ्जन सिंह रहनेछन् । त्यसैगरी, मुस्लिम समुदायका तर्फबाट महमद महबुब अलि ९शेरु० र अलि असगर मदनी रहनेछन् ।

सो सर्वपक्षीय तथा सर्वदलीय बैठकले अन्य धार्मिक समुदायबाट पनि आवश्यकताअनुसार प्रतिनिधित्व र जिल्लास्थित राजनीतिक दलहरुका तर्फबाट एक÷एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । त्यसैगरी, सोही संयन्त्रमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष तथा नागरिक समाजको प्रतिनिधि सदस्य रहनेछन् ।

सो बैठकले सबै प्रकारका सञ्चारकर्मीहरुलाई समाचार सम्प्रेषण गर्नुपूर्व धार्मिक, सांस्कृतिक÷सामाजिक सद्भावमा खलल नपुग्ने गरी सामाचार सम्प्रेषण गर्न अनुरोध गर्ने पनि निर्णय गरेको छ । त्यसैगरी धार्मिक, सांस्कृतिक, सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह÷आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने बताइएको छ ।

साथै सबै पक्षले आ–आफ्नो, समूहका तर्फबाट भएका कमजोरीको मनन गर्दै आ–आफ्नो समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम तथा सद्भाव कायम राख्न प्रतिबद्धता व्यक्त गर्ने निर्णय भएको छ । सो बैठकले विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आ–आफ्नो स्थानबाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रमहरु नगर्ने पनि निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया