साहित्य शिरोमणि तथा कविकेशरी चित्तधर हृदय –एक छोटो परिचय

– स्वयम्भू शाक्य

विद्घान नै होस् दुर्जन छ भने दूर फाल्नु नै हितकर हुन्छ
मणिले युक्त भयो भन्दैमा सर्प भयङ्कर हुन्न र पुत्र ?
सुरभित सुम वा ऋषिमुनिहरुको दुइटा केवल गति जीवनमा
या बस्छन् ती जनको शिरमा अथवा आफै सुक्छन् वनमा ।
चित्तधर हृदय

नेपालका महान् साहित्यिक व्यक्तिहरुमध्ये साहित्य शिरोमणि तथा कविकेशरी चित्तधर हृदय (वि.स.१९६३–२०३९) पनि एक हुन् । आफ्नो सम्पूर्ण जीवन नेपालभाषा साहित्य, संस्कृति र मातृभाषाको सेवामा समर्पित गर्नु भएका महाकवि पुनर्जागरण कालका एक मुर्धन्य व्यक्तित्व हुनु हुन्थ्यो । नेपालभाषाका लागि राणा शासन चरम शोषण काल थियो । त्यस्तो निरंकुश कालमा पनि नेपालभाषाबाट लेख्न समेत अनुमति नभएको बेला महाकवि चित्तधर हृदयले कविता, कथा, लघुकथा, उपन्यास, इतिहास, खण्डकाब्य, महाकाब्य, गीत, निवन्धप्रवन्ध, नाटक, बाल साहित्य, समालोचना र आत्मकथा जस्ता विविध विधामा आफ्नो साहित्यिक जीवन यात्रा आरम्भ गरेका थिए । उनी अन्वेषक, सम्पादक, प्रकाशक तथा अनुवादक पनि थिए । उनले ‘हृदय’ उपनामले आफ्नो कृतिहरु भारतवाट प्रकाशित हुने विभिन्न पत्र–पत्रिकाहरुमा प्रकाशित गर्नु भएको थियो । शिक्षाको पाठ्यक्रममा नेपालभाषा राख्नका निम्ति अथक प्रयास गर्नु भएका महाकवि चित्तधर हृदयका जागरणले वि.स.२०१० सालमा विद्यालयस्तरमा र वि.स.२०१७ सालदेखि त्रिभुवन विश्व विद्यालयमा नेपालभाषाको पाठ्यक्रम समाबेश गरिएको थियो ।
चित्तधर हृदयको जन्म वि.स.१९६३ साल जेष्ठ ५ गते ल्हासा साँहु पिता दिव्यधर तुलाधर र माता ज्ञानलक्ष्मी तुलाधरको कोखवाट ( छोराहरु पन्नाधर (सानोमा मृत्यु भएको) र चित्तधर , छोरीहरु मोतिलक्ष्मी, बेतिलक्ष्मी, न्हुछेलक्ष्मी र माणिलक्ष्मी ) काठमाडौंको न्यत, तुन्छे गल्लीमा भएको थियो । उनका पिता सस्कृत र नेपालभाषाका महायानी वौद्धग्रन्थ, कथा र पुराणहरु संग्रह गर्नमा सौकीन थिए । छोरालाई वि.स.१९६७ साल श्रीपञ्चमीका दिन पाँच वर्षको उमेरमा वर्णमाला सिकाई अक्षर पढ्न सक्ने भएपछि वुद्धि चाणक्य पढाउन शुरु गरियो । पछि पण्डित निष्ठानन्द बज्राचार्यद्धारा लिखित नेपालभाषाको ‘ललित विस्तार’ नामक वुद्ध जीवनी पढ्न दिएका थिए । जातक, अवदान, स्वयम्भू पुराण आदि जस्ता हस्त लिखित ग्रन्थहरु पढ्न लागि प्रेरित गदैं चित्तधर हृदयलाई काठमाडौको मखन टोलस्थित भाषा पाठशालामा भर्ना गरि दिए पछि संस्कृतको प्रारम्भिक ज्ञान हासिल गरेका थिए ।
चित्तधर हृदयको विवाह भाजुरत्न कंसाकार तथा ज्ञानमाया कंसाकारकी छोरी ज्ञानप्रभा कंसाकारसंग ने.स.१०३९ मा भएको थियो । त्यसवेला यिनी चौध वर्षको थियो भने यिनकी पत्नी बाह« वर्षकी थिइन् । तर दम्पतीवाट सन्तान भएनन् । चित्तधर हृदय समाज सेवामा समर्पित थिए । उनले घरमै स्वाध्यायन गरी शिक्षा आर्जन गरेतापनि पछि यिनले कन्या मन्दिर हाई स्कूल, नेपाल शिक्षा परिषद र भक्त विद्याश्रम हाई स्कूलमा शिक्षण पेशा अपनाएका थिए । उनी “झी” मासिक पत्रिकाको पनि संरक्षक र “नेपाल”(तीन वर्ष) क्रृतु पत्रिकाका सम्पादक (ने.स.१०७२–१०७५) भए भने भारतको कोलकत्ता नेपाल भाषा साहित्य गोष्ठीका संस्थापक थिए । वि.स.१९९१–९२ सालमा भारतका विद्धान भिक्षु राहुल सांकृत्यायन धर्म, भाषा ,राजनीति र बौद्धग्रन्थको अध्ययन गर्न नेपालमा आएका वेला चित्तधर हृदयको घरमा गई उहाँका पितासंग वुद्धधर्म सम्वन्धी छलफल गरे पश्चात चित्तधर हृदयलाई नेपालमा चर्या गीतको एउटा बृहत्त सूची बनाउन सल्लाह समेत दिनु भएको थियो ।
“शिक्षा जनोपयोगी हुनु पर्छ” “शिक्षा मानसीक विकासको निम्ति हुनु पर्छ” “शिक्षाले वौद्धिक अभ्यास गर्नु पर्छ” भन्ने महान् विचार वोकेका भाषाका महारथी चित्तधर हृदयलाई लामो समयसम्म साहित्य सेवा गरेको कदर स्वरुप उनलाई च्वसापासाले वि.स.२०१३ साल जेष्ठ१३ गते “साहित्य शिरोमणि” उपाधिवाट विभूषित गरेको थियो भने वि.स.२०१३ साल असार २० गते प्रधानमन्त्री टंक प्रसाद आचार्यको मन्त्रीमण्डलले “कवि केशरी” उपाधि प्रधान गरिएको थियो । प्रधानमन्त्री टंकप्रसाद आचार्यको मन्त्रीमण्डल कालमा शिक्षामन्त्री बालचन्द्र शर्माले प्रतिनिधित्व गरिएको नेपाली सांस्कृतिक प्रतिनिधि मण्डलका उपनेताको रुपमा चित्तधर हृदय लगायत वालकृष्ण सम, धर्मराज थापा, दयाराम भक्त माथेमा, काशीप्रसाद श्रीवास्तव, अंगुरबाबा जोशी र तीर्थराज तुलाधर समेत वि.स.२०१३ सालमा चीन भ्रमण गरेको थिए । पछि बर्मा र भारतका विभिन्न स्थानको भ्रमण समेत गरेको देखिन्छ । जसको स–विस्तार “महाचीने नेपाल संस्कृति” (वि.स.२०२१) पुस्तकमा उल्लेख गरिएको छ ।
आफ्नो जीवन साहित्य र संस्कृतिका लागि समर्पित गर्ने राष्ट्रिय प्रतिभा चित्तधर हृदय दान दिनेमा पनि प्रसिद्ध थिए । उनले ने.स.१०६८ मा आनन्द पुस्तकालय आनन्दकुटीलाई बहमूल्य ८० वटा पुस्तक, ने.स.१०७३ मा “नेपाल” क्रृतु पत्रिका एवं नेपालभाषा परिषदलाई खेत विकी गरी प्राप्त भएको एक हजार एक रुपैया, ने.स.१०९० मा स्वयम्भू विकास मण्डललाई वुद्धको स्वर्ण प्रतिमा, थाङ्का, हस्त लिखित ग्रन्थ र कलात्मक बस्तुहरु गरी जम्मा ६९ वटा, ने.स.१०९१ मा नेपालभाषा परिषदलाई आफ्नो स्ववासी घरको मटान तल्लाको ३ वटा कोठा, मुद्रित एवं हस्त लिखित पुस्तकहरु, तस्वीर र कलामत्क बस्तु सहित ७८ वटा, ने.स.१०९६ मा स्वयम्भू विकास मण्डललाई आफूले वनाएको चित्र, थाङ्का, तस्वीर र कलात्मक वस्तुहरु ५८ वटा, ने.स.११०२ मा नेपालभाषा मंका खलःलाई विजेश्वरी पछाडिको १० आना जग्गा र ने.स.११०२ मा स्वयम्भू विकास मण्डललाई एक हजार एक रुपैया लगायत अन्य थुप्रै संस्थाहरुलाई रकम तथा बहुमूल्य सामानहरु प्रदान गर्नु भएको थियो ।
नेपालभाषा साहित्यका चार स्तम्भमध्ये एक योगवीर सिंह कंसाकार (वि.स.१९४३–१९९८) का कवितावाट विशेष प्रभावित भई साहित्य सेवामा लाग्नु भएका चित्तधर हृदयले योगवीर सिंह कंसाकारवाटै प्रारम्भिक शिक्षा प्राप्त गर्नु भएका थियो । आफ्नो लक्ष्यमा हिडेका नेपालभाषाका संवाहकले वि.स.१९७० सालताका आफ्नो केल टोलस्थित कपडा पसलमा सार्वजनिक पुस्तकालय खोल्ने योजना वनाई राणा शासक भीम शम्सेरको शासन कालमा वि.स.१९८६ सालमा निवेदन दिएकोले उहाँलाई सजाय स्वरुप सय रुपैया जरिवाना गरिएको थियो भने वि.स.१९८७ सालमा आडम्वर मत पर्वकोरुपमा धर्म संस्कारमा सुधार गर्नु पर्छ भनी अभियान चलाएकोले कविकेशरी चित्तधर हृदयलाई थुनामा समेत राखिएको थियो ।
कसैलाई थाहा जानकारी नदिई अत्यन्तै कष्टपूर्ण तरिकावाट जेल जीवनमा रचना गर्नु भएका थुप्रै कृतिहरुमध्ये “सुगत सौरभ” अत्यन्तै चर्चित एवं लोकप्रिय महाकाब्य हो । यो महाकाब्य नेपालभाषा साहित्यमा सबै भन्दा पहिले लेखिएको काब्य हो । उनले “सुगत सौरभ” महाकाव्य जेलमा लेखी आफ्नो वहिनीलाई यो पाण्डुलिपीका टुक्राहरु नहराइकन राख्नु म जेलवाट आए पछि दिनु भनेकोले दाजुको जेल जीवन पश्चात बहिनी प्रथम महिला लधुकथाकार मोतिलक्ष्मी उपासिकाले दिएका थिए । वि.स.१९९८ साल देखि वि.स.२००२ सालका वीच रचना गरिएका गौतम वुद्धको जीवनी तथा बौद्ध दर्शनमा आधारित उन्नाइस सर्गको महाकाब्य चित्तधर उपासक प्रकाशक भई वि.स.२००६ साल वुद्ध पूर्णाीमाका दिन भारतको कोलकत्तावाट प्रकाशित गर्न मामासंग साझादारीमा चलाएको मानदास चित्तधरको साइकल पसलको आफ्नो भाग मामालाई वेची आएको रकमले भारतको कोलकत्तामा गई “सुगत सौरभ” महाकाब्य छापी प्रकाशित गरेका थिए । जुन “सुगत सौरभ” महाकाब्यलाई चित्तधर हृदयले आफ्नो छोरा मानी मानसपुत्रको रुपमा लिएको देखिन्छ भने वि.स.२०२५ सालमा प्रकाशित भएको नेपाल तिब्वत सांस्कृतिक सम्वन्ध विषयक लामो कथा “मिं मनः पौ” (आगोले नखाएको पत्र) लाई छोरी मानी मानस पुत्रीको रुपमा ग्रहण गरिएको थियो । वास्तवमा कविकेशरी चित्तधर हृदयले जर्मनका कथाकार स्टेफन ज्वाइस् (ई.स.१८८१–१९४२) को “अपरिचित आइमाईको पत्र” वाट अत्यन्तै प्रभावित भएर “मिं मनः पौ” को रचना गर्नु भएको देखिन्छ । जेल जीवनमा नेपालका सुप्रसिद्ध चित्रकार चन्द्रमान सिंह मास्केले गोलले हलुमानको चित्र लेखेको देखेर जेलर खुशी भई आफ्नो चित्र लेख्न कापी र कलम दिनु भएको थियो । पछि जेलमा कापी र कलमको प्रचलन बिस्तारै शुरुबाट भएको थियो । यसरी जेल जीवनमा सुप्रसिद्ध चित्रकार चन्द्रमान सिंह मास्केको सम्पर्कले गर्दा चित्तधर हृदयले पनि चित्र सिकेंका थिए । पछि चित्तधर हृदयले “सुगत सौरभ” महाकाब्य प्रकाशित गर्दा उक्त महाकाब्यको कभर पृष्ठमा रंगिन चित्रण चित्रकार चन्द्रमान सिंह मास्केले गर्नु भएको थियो ।
महाकवि चित्तधर हृदयको “सुगत सौरभ” महाकाब्य नेपालभाषावाट नेपालीमा अनुवाद प्राज्ञ चित्तरञ्जन नेपाली (नारायणप्रसाद राजभण्डारी) ले गर्नु भएको थियो । उक्त पुस्तक वि.स.२०५९ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानवाट प्रकाशित गरिएको थियो भने अग्रेजीमा अनुवाद तीर्थराज तुलाधरले वि.स.२०५५ मा नेपालभाषा एकेदेमीवाट प्रकाशित गरेको थियो । पछि सोही महाकाब्यलाई विदेशी विद्धान रोडटी लुइस र सुवर्णमान तुलाधारले अग्रेजीमा पुनः अनुवाद गरी प्रकाशित भएको देखिन्छ । जुन “सुगत सौरभ” महाकाब्यलाई सन् २०११ मा युनिभर्सिटी अफ क्यालिफोनिर्याले पुरस्कृत गरिएको थियो । भारतका प्रख्यात लेखक, अनुवादक तथा समालोचक चंद्र भूषणले “पत्र जो जला नही” शीर्षकमा “ नेपालभाषा या नेवारी की यह कृति काठमाडू में अपने अग्रेजी अनुवाद “लेटर फ्राँम अ ल्हासा मर्चेट टु हिज वाइफ” की शक्ल में मुझें प्राप्त हुई लेखक चित्तधर हृदय के नाम से इसके पट्टले मेरा कोही परिचय नहीं था । किताव खरी दनें की अकेली वजह थी इसके वैड कबर पर मूल शीर्षक “मिं मनः पौं” के नीचे लिखी यह इवारत कि “यह ल्हासा में रह रहे एक नेवार सौदागर द्धारा काठमाडू में रह रही उनकी पत्नीको लिखा गया पत्र हैं ऐसा पत्र, जो इस स्त्री की मृत देहको निगल गई लपटो मे भी जलने से बचा रह गया” चित्तधर हृदय (ज्ञढण्ट(ज्ञढडद्द ई ) नेपाल भाषा के सबसे बडे रचनाकार है, यह जानकारी मुझे बाद मे हुई ।” भनी आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
महाकवि चित्तधर हृदयको पहिलो रचना “बुद्धोपासक्या पाप देशना” हो । जुन भारतको कोलकत्तावाट वि.स.१९८३ सालमा “बुद्ध धर्म व नेपालभाषा” पत्रिकावाट प्रकाशित भएको थियो । उनको पहिलो प्रकाशित पुस्तक “पद्म निकुञ्ज” (वि.स.१९८९) थियो । आमा ज्ञानलक्ष्मी तुलाधर वि.स.१९८६ बैशाख ४ गते परलोक भएकोले आमाको सम्झनामा प्र्रकाशित कृति भारतका ए.पी र दी.पी. उपासकले राणा सरकारको उत्पीडनवाट जोगाउन साइकल स्टोर कालिम्पुवाट “पद्म निकुञ्ज” कविता संग्रह “हदय” उपनामले वि.स.१९९३ साल श्री पञ्चमीका दिन प्रकाशित गरेतापनि सो कुरा राणा सरकारले थाहा पाई उक्त पुस्तक काठमाडौमा पुग्नु अघि सबै पुस्तक चिसापानी गढीको भन्सारवाट जफत गरिएको थियो । आफ्नो आमा ज्ञानलक्ष्मी तुलाधरको मृत्युको सम्झनामा शोक व्यक्त गदैं इन्द्रबज्र छन्दमा लेखिएको “माँ” कवितामा चित्तधर हृदयले आफ्नो भाव यसरी पोखेको पाइन्छ ः–
माता धयागू थुगु शब्द जक्क
संयोग ज्वीव उजु शब्द फुक्क
माता समः ज्वी सुख वीद्य खासा
ख “जन्म भूमी” थव “मातृ भाषा” ।।
(१३)
तस्मात यो माँ ! थुगु व्याक्क छँगू
देंका जिनं “पद्म निकुञ्ज” न्हूगु
अत्यन्त श्रद्धामय् भक्ति याना
नौं छन्त हे अर्पण याय नाः नाः ।।
– मातृ विहीन बालक
हृदय

राणा सरकारले यस पद्यांशमा आपति जनाई नेवारहरुले मातृभाषावाट लेख्न वञ्चित गरिएको भनी विध्ंवसको अर्थ लगाई वि.स.१९९७ साल कार्तिक २९ गते चित्तधर हृदयलाई पक्री सिंहदरवारमा राखेको र वि.स.१९९७ साल मंसीर २४ गते उनलाई ६ वर्षको कठोर सजाय तोकी जेल हालिएको थियो । यसरी चित्तधर हृदय जेल जानु अगाडि “यो मेरो नेपालभाषा साहित्य सेवा गरेकोले दिएको पुरस्कार हो । यसलाई म सहर्ष स्वीकार गर्दछु” भनी जेल जानु भएको थियो । जुन बेला भद्रगोल जेलमा ७ नं कोठामा उहाँलाई राखिएको थियो । उक्त कोठामा टंकप्रसाद आचार्य, पुष्करनाथ उप्रेती, रामहरि शर्मा, गोविन्द्र प्रसाद उपाध्याय र धर्मरत्न “यमि” थिए । त्यसताका युगकवि सिद्धिचरण श्रेष्ठ र फत्ते बहादुर सिंह समेत नेपालभाषामा काब्य सृजना गरेको आरोपमा जेल सजाय भोगिरहेको थिए ।
महाकवि चित्तधर हृदयले वि.स.१९९० को दशकमा नेपाली र हिन्दीमा पनि कविता रचना गरेको देखिन्छ । “साहित्य”(वि.स.१९९२) र “अनिमन्त्रित पाहुना” (वि.स.१९९५) शारदा पत्रिकामा प्रकाशित दुई नेपाली कविता हुन् । जेलभित्र उनले चार वटा हिन्दी कविता रचना गरेको देखिन्छ भने करीव एक दर्जन हिन्दी कविता हालसम्म पनि प्रकाशित भएको देखिन्दैन । चित्तधर हृदयका ३३ वटा कृतिहरु प्रकाशित छन् । ती मध्ये काब्यहरुमा “पद्म निकुञ्ज” (ने.स.१०५३), हृदय कुसुम (ने.स.१०५३), गौतमबुद्ध (ने.स.१०६७), हृदय कथा (ने.स.१०६७), अन्तर ध्वनि (ने.स.१०६९), न्हूगु स्वां (ने.स.१०६९), याकः मिसा चा (ने.स.१०७०) मञ्जुश्रीयात नेपाल या बुखँ (ने.स.१०७६), चीन लुमना (ने.स.१०७७), देगः (ने.स.१०७९) बधुवाहन (खण्डकाब्य,ने.स. १०६९), सुगत सौरभ (महाकाब्य, ने.स.१०६९), खुपु बाखंचा (कथा संग्रह,ने.स. १०६७), थाय्भु (कथा संग्रह,ने.स.१०७८), डायरी (कथा संग्रह, ने.स. १०९०) मिं मनः पौ (लामो कथा, ने.स.१०८८), झी मचा भाग–१ (वाल साहित्य, ने.स.१०६८), झी मचा भाग–२ (बाल साहित्य, ने.स १०७०), ह्वानागा (एकाकी नाटक, ने.स.१०६८), नेपालभाषा गय् च्वयेगु (भाषा सम्वन्धी,ने.स.१०७२), झीगु साहित्य (साहित्य इतिहास, ने.स.१०७४), झीगु साहित्यया तँसा (साहित्यका इतिहास, ने.स.१०९४), नेपाल संस्कृति (निवन्ध, ने.स.१०९२), नेपाल संगीत (निवन्ध अगे्रजीमा, ने.स.१०७७), स्वपु सूत्र (भ्रमण, ने.स.१०७८), बुद्ध वचनामृत व नेपालया बौद्ध दृष्टिकोण (धार्मिक,ने.स.१०८१), योग सुधा (सम्पादन,ने.स.१०७१), नेपालभाषा अन्त्याक्षरी (सम्पादन,ने.स.१०७९), धर्मादित्य धर्माचार्य व नेपालभाषा व थ्वया साहित्य (सम्पादन, ने.स.१०८४), सिद्धिदास थःगु मिखाय् व शिव विलासया बाखँ (सम्पादक, ने.स.१०८७), नेपाल भाषाया जातः (ने.स.१०९१), प्रकाशित भएका छन् ।
यूरोपको आधुनिक लधुकथालाई बंगाली भाषामा गल्प भनिने भएकोले महाकवि चित्तधर हृदयले पनि ने.स.१०४८ देखि ने.स.१०५६ सम्म गल्प नाम राखी ५ वटा लघुकथाहरु प्रेम, माँया माया, आधुनिक बन्धु, सुशीला र विदा लेखिएका थिए । त्यस्तै उहाँले फुटकर लेख एक सय एक वटा, फुटकर कविता एक सय एधार वटा, नेपाली रचना चार वटा, हिन्दी रचना तेह« वटा प्रकाशित भएका छन् भने अन्य थुप्रै लेख रचनाहरु साथै पुस्तकहरु हिन्दी, वंगाली, नेपाली र अग्रेजी भाषावाट लेखिएकोमा केही कृतिहरु नेपाली, हिन्दी, अग्रेजी, उदूँ र चिनियाँ भाषावाटसमेत अनुवाद गरी पुस्तक प्रकाशित भएका छन् । अन्य कृर्तिहरु हालसम्म पनि प्रकाशित हुन सकेको छैन ।
ने.स.१०७१ मा महाकवि चित्तधर हृदयले नेपालभाषाका साहित्यकारहरुसंग मिलेर नेपालभाषा परिषदको स्थापना गरेका थिए । उक्त नेपालभाषा परिषदको स्थापना गर्दा चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठ, फत्ते बहादुर सिंह, लोकमान सिंह, ठाकुरलाल मानन्धर, प्रेमबहादुर कंसाः, रत्नध्बज जोशी, हृदयचन्द सिंह प्रघान थिए । जसको मुख्य उदेश्य नेपालभाषा साहित्यको बिकास गरी स्बदेश र बिदेशमा प्रचार प्रशार गर्ने, नेपालभाषाबाट पत्र–पत्रिका तथा पुस्तक प्रकाशन गरी नेपालको शैक्षिक पाठ्यक्रममा नेपालभाषा समाबेश गर्नु थियो । पछि वि.स.२०१० सालमा साहित्यकार लोकमान सिंह शिक्षा–सचिब भएको बेला एसएलसीको पाठ्यक्रममा नेपालभाषा समाबेश गरिएको थियो । यसरी नेपालभाषा परिषदको स्थापना पश्चात वि.स.२०१० साल जेष्ठ २५ गते आफ्नो गुरु योग वीर सिंह कंसाकारकी पत्नी बुद्धमाया कंसाकारले क्षेत्रपाटीस्थित तारावीर सिंह कंसाकारको घरमा आयोजित कार्यक्रममा उट्घाटन गर्नु भएको थियो । पछि यसको कार्यालय चित्तधर हदयको आफ्नो घर न्यत,तुन्छे गल्लीमा सारेका थियो ।
युगपुरुष चित्तधर हृदयले पन्ध्र वर्षको उमेरमा व्यापार गर्न शुरु गरे । आफ्नो मामा मानदास तुलाधरसंग मिलेर भोटाहिटीको कमलाछीमा “मानदास चित्तधरको साइकल पसल” राखेको भएता पनि यिनले यही पसलवाट पुस्तक समेत बेच्ने गरिन्थ्यो । त्यसवेला यो पसल निकै प्रसिद्ध भएकोले पण्डित सोमनाथ सिग्देल लगायत धेरै साहित्यकारहरुले आफ्नो पत्राचार गर्ने ठेगाना उक्त पसललाई नै वनाएका थिए । कविकेशरी चित्तधर हृदयले व्यापार गर्न आफ्नो जग्गा धितो राखी शुरु गरेका थिए । त्यसवाट पनि नपुगेकोले साहुंसंग क्रृण लिएर चलाए तापनि पछि व्यापार सफल नभएकोले उनकी आमाले क्रृण चुक्ता गरी दिनु भएको थियो । हृदयको आर्थिक अवस्था कमजोर हुदै गएकोले ससुरालीले पनि हेप्थे । त्यसकारण उनकी पत्नीले उद्योग धन्दा गर्नु प¥र्यो भन्दा कविकेशरी चित्तधर हृदयले कविहरु भनेकै गरीव हुन्छन् भनी हाँसेर उत्तर दिन्थे । वास्तवमा साहित्य शिरोमणि तथा कविकेशरी चित्तधर हृदयको पत्नीसंग राम्रो मेल थिएन । त्यसैले चित्तधर हृदयले पत्नी ज्ञानप्रभालाई दुःख दिएकोले दिन भरी आमा भोकै बस्ने निधो गरे पछि कविकेशरी चित्तधर हृदयले आमाको बचनलाई शिरोधार्य गरी पत्नीलाई माया गर्न थाले । ज्ञानप्रभा दमको रोगी भएकोले वि.स.२०१७ सालमा भारतको कोलकत्तामा लगि उपचारकै क्रममा उनकी त्यही मृत्यु भएको थियो । यसरी मृत्यु भएकोले आफ्नो पत्नीको सम्झनामा प्रतिमा वनाई संधै मिर्मिरे उज्यालोमा आफ्नो पत्नीको प्रतिमाको दर्शन गरी दिनको एक छाक मात्र भात खाने गरिन्थ्यो । भात खाँदा आफूले जे खायो त्यही खानेकुरा पत्नी प्रतिमालाई पनि चढाउने गर्थे ।
वि.स.२०२८ सालमा महान्् साहित्यकार चित्तधर हृदयलाई कन्या मन्दिर हाई स्कूलका स्वर्गीय प्रधनाध्यापक नेपालभाषाका प्रसिद्ध साहित्यकार केदारनाथ न्यौपानेको शोकसभामा भाषण गर्दागदैं अचानक पक्षघात भई उनको दाहिने हात र खुट्टा चलाउन नसक्ने भएको थियो । पछि देव्रे हातले साहित्य सृजना गर्नु भएको एधार वर्ष पछि वि.स.२०३९साल जेष्ठ २६ गते नेपालभाषा परिषद्को बैठकमा अध्यक्षता गर्ने क्रममा साहित्य शिरोमणि तथा कविकेशरी चित्तधर हृदय हृदयघात भई निधन भएको थियो । वास्तवमा चित्तधर हृदयको जन्मजयन्ती वि.स.२०४१सालदेखि शुरु गरिएको थियो । च्वसापासाको तर्फवाट वि.स.२०१२ सालमा पचासौ वर्षको जन्मोत्सव तथा पल्पसा साहित्य ख्यःको तर्फवाट वि.स.२०३४ साल मा ७०औ जन्मोत्सव मनाएको थियो ।उनको मृत्यु भएको दशौं बार्षिकोत्सवको अबसरमा वि.स.२०४९साल पुस १६ गते चित्तधर हदयको चित्र अंकित हुलाक टिकट र उहाँको सम्मानमा पाँच सय रुपैयाको चाँदीको सिक्का पनि निकालिएको थियो । त्यस्तै वि.स.२०६३ साल चैत्र ७ गते विश्व कविता दिवसको अवसरमा सार्क लेखक तथा साहित्य प्रतिष्ठानले चित्तधर हदयको शताब्दि मानिएको थियो । वि.स.२०६५साल कार्तिक २३ गते काठमाडौको कालीमाटी चोकमा साहित्य शिरोमणि तथा कविकेशरी चित्तधर हृदयको शालिक राखिएको थियो भने साहित्यिक गतिविधिलाई समर्पित गरी भारतीय सहयोगमा वि.स. २०७० साल श्रावण ५ गते चित्तधर स्मारक संग्रहालय खोलिएको थियो ।
वौद्ध दर्शनवाट अति प्रभावित भएका चित्तधर हृदय विभिन्न संध संस्थाहरु नेपाल बुद्ध धर्म उद्धार सधं (वि.स.१९८१), एकादशी गुठी (वि.स.१९८३), नेपाल सांस्कृतिक परिषद् (वि.स.२००८), एशियाली सांस्कृतिक समन्वय परिषद् (वि.स.२००९), धर्मोदय सभा, त्रिभुवन स्पारक समिति, नेपाल चीन सांस्कृतिक परिषद्, नेपालभाषा परिषद् आदि जस्ता संघ संस्थाहरुमा आवद्ध भएको देखिन्छ ।
नेपालभाषा साहित्य, सस्कृति र संस्कारको संरक्षणमा आफ्नो तन, मन र धन खर्चेर सम्पूर्ण जीवन समर्पित गर्नु भएका बुद्धका अनुयायी तथा बैचारिक चिन्तनका धनी चित्तधर हृदयले नेपालभाषा साहित्यको उत्थान र विकासका लागि विविध विधामा कलम चलाएर ठूलो योगदान गरेता पनि उनी मूलतः विशिष्ट कवि हुन् । भाषा सेवामा ब्रत लिई भाषिक तथा साहित्यिक जागरण ल्याउने मूल हस्तीका रुपमा रहेका महाकवि चित्तधर हृदय नेपालभाषा प्रति माया, मोह र सेवा गर्ने अनन्यभक्त तथा उत्प्रेरकका संवाहक हुन् । स्वतन्त्र अनि स्वच्छन्द लेखन र विम्वहरुको प्रयोगले जादू चलाउन सक्ने मनका धनी नेपालभाषा साहित्यका महाकवि तथा साहित्य शिरोमणि चित्तधर हृदयले वि.स.२००२ सालमा आफू जेल जीवनवाट मुक्त भए पछि दाही पाल्नु भएको थियो । अतः साहित्य शिरोमणि तथा कविकेशरी चित्तधर हृदय त्यस्तो व्यक्ति हुन् जो नेपालभाषावाट साहित्य लेखेको थाहा पाएँ जेल सजाय हुने राणाकालीन समयमा पनि उनले चित्तधर, चित्तधर उपासक, हृदय, रुपरत्न, धर्मवीर, जस्ता विभिन्न उपनामवाट साहित्य साधना गर्नु भएको थियो ।
विशाल हृदय बोकेका साहित्य शिरोमणि तथा कविकेशरी चित्तधर हृदयले समाजलाई धेरै दिए तर आफूले केही लिएनन् । त्यसैले महाकवि चित्तधर हृदय नेपालभाषा साहित्य क्षेत्रका एक चम्किला तारा हुन् । यस्ता महान् साहित्यकारले रचना गरिएका तर जन–मानसमा आउन नसकेका थुप्रैं कृतिहरुलाई नेपालभाषा परिषद्वाट समेत प्रकाशन गर्न नसक्नु ज्यादैं चिन्ताको विषय हो । तसर्थ नेपालभाषा साहित्यमा अत्यन्तै चर्चित असाधारण व्यक्तित्व महाकवि चित्तधर हृदयको योगदानलाई सीमित नेवार जगतले मात्र थाहा पाउनु अर्को पीडादायी कुरो हुने भएकोले यस तर्फ नेपालभाषाका अनगिन्ती भातृ संध संस्थाहरुले समेत यस तर्फ अग्रसर भई जीवन भरी आफ्नो मातृभाषावाट साहित्य यात्रा गर्ने भाषापे्रमी कविकेशरी चित्तधर हदयको स्वदेश तथा विदेशमा समेत प्रशार प्रचार गर्नु नितान्त आवश्यक देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया