
ललितपुर । सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई संविधानको धार ६१ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
शुक्रबार राति नै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्न सफल भएकी हुन् । कार्की पूर्वप्रधानन्यायाधीश पनि हुन् ।
प्रधानमन्त्री बनेकी सुशीला कार्की पूर्व प्रधानन्यायाधिश पनि हुन् । ०६५ सालमा उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशको रूपमा नियुक्त भएकी थिइन् । २०६७ मा स्थायी न्यायाधीश बनेकी कार्की ०७३ मा पहिलो महिला प्रधानन्यायाधीश बनेकी हुन् ।
उनले आफ्नो करिअर कानुन व्यवसायीको रूपमा ०३५ सालमा सुरु गरेकी थिइन्। पछि उनी अध्यापक पनि बनिन् । ०४२ सालमा आफू पढेको विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अध्यापन गरेकी उनी पछि वकालत पेसामै सक्रिय भएकी थिइन्।
०७४ सालमा प्रहरी महानिरीक्षकको नियुक्तिसम्बन्धी सरकारको निर्णय बदरलगायत कारण उनलाई तत्कालीन सरकारले महाअभियोग लगाएकोमा पछि सर्वोच्चले नै त्यसलाई रोक लगाएपछि उनी सर्वोच्च फर्किएकी थिइन्।
गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जना युवाको मृत्यु भएपछि २४ गते आक्रोशित समूहले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेको थियो । त्यसपछिको देशमा उत्पन्न परिस्थितिले यतिबेला पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीलाई नेपालकै इतिहासमा अन्तरिम सरकारको पहिलो प्रधानमन्त्रीमा पदमा नियुक्त गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया