ललितपुर । केही दिनदेखि स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी प्रभावित भएका छन् ।
स्वास्थ्य बिमा प्रणाली राम्रोसँग नचलेपछि लामो समय पालो कुरेर बिरामी अस्पतालबाट फर्किनु परेको छ । पछिल्ला दुईदिनदेखि प्रणालीमा प्राविधिक समस्या देखिएपछि बिरामी र तिनका आफन्तहरुले गुनासो गरिरहेका छन् ।
चितवनको भरतपुर अस्पताल स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार बिमाका कारण ‘बिलिङ काउन्टर’मा पटकपटक झगडा पर्ने गरेको छ । उनका अनुसार हिजोमात्रै ५०० भन्दाबढी बिरामी टिकट काट्न नसकेर फर्किएका छन् ।” दिनभर लगाएर एक हजार ६२६ जनाको टिकट काटिएको थियो । पछिल्ला २ दिनदेखि भरतपुर अस्पतालमा मात्र दुई हजार २०० हाराहारीमा बिमाका बिरामी प्रभावित भएका छन् ।
भरतपुर अस्पतालमा बीमाको टिकट काउन्टर आठ वटा छन् भने आकस्मिकमा समेत बीमाको टिकट काटिन्छ । अस्पतालको टिकट काउन्टरमा कार्यरत वसन्ती चिलवालले विगत चार दिन यता नयाँ टिकट काट्नै नसकिएको बताए।
बीमा बोर्ड अन्तर्गत ५५० अस्पतालले सेवा दिएका छन् । तीमध्ये केही अस्पतालले बोर्डलाई पत्राचार गरी समस्याका बारेमा अवगत गराएका छन् । विराट मेडिकल कलेज, कोशी अस्पताल, बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलगायतका अस्पतालले यही अवस्थामा सेवा दिनै कठिन भएको पत्र बोर्डमा पठाएका छन् ।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बोर्ड स्थापना हुँदा परीक्षणका रूपमा दुई चार लाख सेवाग्राहीका लागि जडान गरिएको प्रणालीको स्तरोन्नति गर्न नसकिएका कारण समस्या आएको बताए। उनका अनुसार बोर्डमा जडान गरिएका प्रणालीको म्याद सकिएको छ । हाल चाप अत्याधिक बढेको र प्रणालीमा सोही अनुरुपको स्तरोन्नति नहुँदा समस्या भएको हो । आफ्नो प्रत्यक्ष निगरानीमा प्राविधिक टोलीले काम गरिरहेको जानकारी दिँदै उनले अझ समस्या समाधान गर्न एक साता बढी लाग्ने बताए।
काफ्लेले भने, “मैले गर्ने प्रयत्न गरिरहेको छु, केही डिभाइस किनेर जडान गर्ने काम भइरहेको छ । सिस्टम अपग्रेड भनेको महिनौँ लाग्ने काम हो ।” अहिले बोर्ड अन्तर्गत दैनिक ८० हजार हाराहारीले सेवा लिइरहेका छन् । बोर्डमा जोडिनेको सङ्ख्या ६५ लाख नाघेको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया