२०८२ आश्विन १६ | Oct 02, 2025

हाम्रो विरोध गर्ने सामर्थ्य कसैसँग छैन : अध्यक्ष ओली

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २०
|
612 views

ललितपुर। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीको उज्ज्वल भविष्यतर्फ अघि बढिरहेको बताएका छन्। उनले पार्टीभित्र अनुशासनमा कमी देखिए पनि यसलाई सुधार्दै अब अगाडि बढ्नु पर्ने बताएका छन् ।

आजदेखि ललितपुरको गोदावरीमा सुरु भएको पाटीको विधान अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी सशक्त रूपमा अघि बढिरहेको बताए। उनले भने, ‘पार्टीमा अनुशासनमा कमी, अलि बेलगाम हुन पाए हुने भन्ने प्रवृत्ति छ। तर पनि हामी उज्ज्वल भविष्यतर्फ अगाडि बढेका छौँ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको ‘मिसन २०८४’ मा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा प्रस्तुत गर्ने बताए । उनका अनुसार नेकपा एमालेका नीति–कार्यक्रम नै राष्ट्रिय नीति हुन् र त्यहीमार्फत सामाजिक न्याय, विकास र सामूहिक आर्थिक सुधार हासिल गर्न सकिनेछ।

विपक्षी दलहरूले एमालेविरुद्ध अनर्गल प्रचार गरिरहेको दाबी गर्दै ओलीले भने– ‘हाम्रो नीति नै राष्ट्रिय नीति हुन्। हाम्रा विरोधीले हाम्रो विरोध गरिरहेका छन्। तर सच्चाइलाई लिएर हाम्रो विरोध गर्ने सामर्थ्य कसैसँग छैन।’

उनले आफ्नो पार्टीलाई अनुशासन, समर्पण र राष्ट्रिय लक्ष्यका आधारमा सुदृढ गर्दै अघि बढाउन सबै तहका नेता कार्यकर्तालाई आह्वान समेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया