
कृष्ण अधिकारी
आज देशभर हिन्दू महिलाहरुले हरितालिका तीज (हरितालिका पर्व) मनाइरहेका छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्व नेपाली महिलाको अत्यन्त महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक उत्सव पनि हो । पार्वतीले भगवान शङ्करलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेको पौराणिक कथामा आधारित यो पर्वमा महिलाहरूले भगवान शिव–पार्वतीको आराधना गरेर आफैँलाई पार्वती सरह सौभाग्यवती र परिवारमा सुख–शान्ति चाहना गर्छन् ।
हरितालिका व्रत बस्दा भगवान शिव प्रकट भई उनको मनोकामना पूरा भएको विश्वास गरिन्छ । त्यसो त आजै साँझ तिथीले चौथी पनि सुरु हुने हुँदा मुख्यतः मिथिला (मधेस÷तराई)का महिलाहरुले चौरचन (चौठचन्द्र, गणेश चौथी) पर्व मनाउँदैछन् । भगवान गणेशको आराधनासँग सम्बन्धित यो पर्व विशेषगरी विवाहित महिलाले आफ्नो परिवारको सुख, शान्ति र सन्तानको दीर्घायुका लागि मनाउने गर्छन् । यस दिन व्रत बसेर भगवान गणेशलाई पूजा गर्ने, कथा वाचन गर्ने र प्रसाद (गुड, दही, फलफूल, ठेकुआ आदि) चढाउने चलन छ । व्रत बस्ने महिलाले दिनभर उपवास गरी साँझमा मात्र भोजन ग्रहण गर्छन् ।
विशेषगरी तराई र पहाडमा मनाइने यी दुई पर्वमा शिव र उनका पुत्र गणेशको आराधना गरिन्छ । दुबै पर्वमा महिलाले आफ्नो श्रीमान्, सन्तानको कल्याण र परिवारको सुख समृद्धिका लागि ब्रत गर्छन् । हरितालिकामा शिव पार्वतीको मूर्ति वा चित्रको स्थापना गरी पूजा गरिन्छ । फलफूल, मिठाई, धूप–दीप, बेलपत्र, फूल आदिले आराधना गरिन्छ भने गणेश चौँथीमा पनि बिहानै स्नान गरेर घरको आँगन वा पूजा कोठामा गणेशको पूजा गरिन्छ । तीजको लगत्तै नेपालका पहाडी क्षेत्र विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा गौरा पर्व एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व मनाउने गरिन्छ ।
यो पर्वमा पनि देवी गौरा (पार्वती) र भगवान् महादेव (शिव)को पूजा आराधना गरिन्छ । भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म मनाइने यो पर्वमा महिलाले व्रत बसेर गौरा माताको पूजा गर्छन् । यस पर्वमा पनि महिलाहरूले आफ्नो पतिका दीर्घायु र परिवारको सुख–शान्तिको लागि व्रत बस्छन् । राष्ट्रिय एकतामा रूपान्तरण हिमाल, पहाड, मधेस, पूर्व–पश्चिम सबै ठाउँमा आआफ्नै मूल्य–मान्यता र रीतिरिवाजअनुसार चाडपर्व मनाउने गरिन्छ । नेपालमा मनाउने जुनकुनै चाडपर्व नेपाल र नेपालीको चिनारी र पहिचान हुन् । हाम्रो सामाजिक विविधतालाई यीनै चाडपर्वहरुले एकतामा रूपान्तरण गरेका छन् । हाम्रा प्रायः सबैजसो चाडपर्वहरुले प्रकृतिसँग तादम्यता राख्छन् भने परस्पर सद्भाव, सम्मान र सहिष्णुतालाई आत्मसात् गरेका छन् । संस्कृतिलाई जीवन्त राख्ने माध्यम भनेकै चाडपर्व हो ।
चाडपर्वले हामी, हाम्रो समाज र संस्कृति तथा परम्परालाई प्राचीनकालदेखि आजसम्म डोहो¥याउँदै ल्याएको छ र भविष्यसम्म लैजाने काम गर्दछ । वास्तवमा चाडपर्व पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्ने तथा नवीकरण गर्ने अवसर पनि हो । पछिल्लो समय कुनै क्षेत्र वा जातजातिले मनाउँदै आएका चाडपर्वहरु विस्तारै अन्य भूगोल वा अन्य जात सम्प्रदायका मानिसले पनि उत्तिकै हर्सोल्लासका साथ मनाउने क्रम बढ्दै गएको छ । केही वर्षअघिसम्म देशका पहाडी भूभागमा मनाइने तीज पर्व अहिले तराई÷मधेसमा पनि उत्तिकै महत्वका साथ मनाउन थालिएको छ भने तराई÷मधेस क्षेत्रको मुख्य पर्व छठ राजधानीलगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।
मूलतःपहाडतिर मनाइने तीज र मधेसतिर मनाइने चौरचन पर्व आज एकैदिन परेको छ । गौरा पर्व अब पश्चिमबाट पूर्वसम्म विस्तार हुँदैछ । हाम्रा पर्व पछिल्ला दिनमा हिमाल–पहाड उक्लिएर र तराई–मधेस झरेर देश जोड्दैछन्, पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतिर सर्दैछन् । राष्ट्रियस्तरमा मनाइने चाडपर्व मात्र नभई स्थानीयस्तरमा कुनै जात, समुदायमा सीमित रहेका चाडपर्व पनि अब देशैभरि सबैले समान ढङ्गबाट मनाउने गरिएको पाइन्छ । खासगरी सूचना सञ्चार प्रविधिको विकास, बसाइसराई र जातीय सङ्कुचनको कमीका कारण सबै चाडपर्वप्रति सबैको समान अपनत्व भावको विकासले गर्दा चाडपर्वको महत्व बढ्दै गएको छ । अन्तरजातीय बिबाह गर्ने क्रमले गर्दा पनि सांस्कृतिक एकता र सद्भावमा बृद्धि ल्याएको छ । नेपाल विविध जात, धर्म, भाषा, सम्प्रदायका मानिस एउटै मालामा गासिएको देश हो ।
यहाँका हरेक जाति, धर्म र सम्प्रदायको आ–आफ्नै सांस्कृतिक सम्पत्ति छ, जो विभिन्न चाडपर्वको रूपमा नेपाली समाजमा प्रचलनमा छन् । यहाँ १२५ भन्दा बढी जातजाति र १२३ भाषा रहेसँगै तिनका आफ्नै चाडपर्व, रहनसहन र संस्कृति छन् । यसैले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक देशका रूपमा चिनिन्छ । नेपालका संस्कृति, चाडपर्व र परम्परा अब कुनै क्षेत्र वा समुदायमा मात्रै सीमित छैनन् । यसले सांस्कृतिक आदान–प्रदान, एकता र सहअस्तित्वलाई देखाउँछ । नेपाली समाजमा मनाइने यी चाडपर्व अब विदेशमा पनि उत्तिकै हर्सोल्लासका साथ मनाउने गरिएको छ । विभिन्न देशमा गएका नेपालीले पनि आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार चाडपर्व मनाउने गरेका छन् । विश्वको जुनसुकै भूभागमा रहे पनि नेपालीहरुले आफ्नो धर्म संस्कृतिको संरक्षण गर्नुको साथै ती मुलुकमा नेपालीको परिचय गराउन सकेका छन् ।
चाडपर्वले नेपाल मात्र होइन, नेपाली समुदाय बसोबास गर्ने विश्वभरका नेपालीलाई सांस्कृतिक रूपमा जोड्ने काम गरेको छ । यसले गर्दा ती मुलुकबाट नेपाल भ्रमणमा आएका पर्यटक यहाँको चाडपर्व, संस्कृतिसँग निकै आकर्षित हुने गर्दछन् । विश्वका अधिकांश देशमा एउटै जात, धर्म र संस्कृतिको प्रभाव रहेको पाइन्छ । तर भौगोलिक रूपमा निकै साना र जनसाङ्ख्यिक दृष्टिले पनि अति न्यून रहेर पनि यहाँको सांस्कृतिक विविधताले नेपाललाई विश्वकै सांस्कृतिक पर्यटनको ‘हब’को रुपमा स्थापित गरेको छ । नेपालले विश्वबाट धेरै पर्यटक भित्र्याउने मुख्य सम्पदा भनेको चाडपर्वहरु नै हुन् । सांस्कृतिक बहुलवादको उदाहरण जातीय छुवाछूतको अवस्थामा निकै कमी आएसँगै विभिन्न संस्कृति, भाषा, धर्मलाई समान सम्मान गर्ने संस्कारको विकास भइरहेको छ । एउटै समाजमा भिन्न–भिन्न समुदाय शान्तिपूर्वक बस्ने सहअस्तित्व वातावरणको विकास भएको छ ।
पर्व, भेषभूषा, खानपान, विचारधारा आदान–प्रदान गर्दै नयाँ सांस्कृतिक मूल्य मान्यताले प्रश्रय पाउन थालेको छ । आफ्नो मौलिक संस्कृतिलाई जोगाउँदै अरूलाई पनि सम्मान गर्ने संस्कारले नेपाली समाजलाई सांस्कृतिक बहुलवादको रूपमा रुपान्तरण गरिरहेको छ । पहाडको तीज मधेसमा झर्ने र मधेसको छठ पहाडमा उक्लिने प्रक्रिया नै सांस्कृतिक बहुलवादको एउटा उत्कृष्ट उदाहरण हो । यसले नेपाली समाजलाई अझ मजबुत, समावेशी र एकीकृत बनाएको छ । सांस्कृतिक बहुलवादले परस्पर सम्मान, सहिष्णुता र साझा पहिचानलाई प्रवद्र्धन गरी समाजमा विभिन्न संस्कृति, धर्म, भाषा, जातजाति, भेषभूषा, चाडपर्व आदिको सहअस्तित्वलाई बल पु¥याउँछ ।
सबै संस्कृति समान रूपमा सम्मानीत हुँदा राष्ट्रिय एकतालाई बलियो बनाउँछ । नेपालको राष्ट्रिय एकता कुनै एक जाति वा धर्ममा आधारित नभई सांस्कृतिक बहुलवादमा आधारित छ । विविधताभित्रको सहअस्तित्व, परस्पर सम्मान र साझा पहिचान नै नेपालको शक्ति हो । त्यसैले सांस्कृतिक बहुलवादलाई संरक्षण र प्रवद्र्धन गर्नु नै राष्ट्रिय एकताको प्रमुख आधार हो । हिन्दू, बौद्ध, इस्लाम, किराँत, क्रिश्चियनलगायतका धर्मावलम्बी समुदायमा मनाइने दसैँ, तिहार, तीज, छठ, ल्होसार, ईद, क्रिसमस, उधौली–उभौली आदि पर्वहरुले आ–आफ्ना परम्परा पालना मात्र गरेका छैनन्, सबैलाई एउटै साझा नेपाली पहिचानमा बाँधेका छन् । नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा राष्ट्रिय एकताको मूल आधार सांस्कृतिक बहुलवाद नै हो । एकतामा विविधता भन्ने अवधारणाले नै नेपाललाई अद्वितीय बनाएको छ ।
पछिल्लो समय विश्वव्यापीकरण र पूँजीवादका कारण हाम्रा सांस्कृतिक धरोहर र राष्ट्रिय एकताको प्रतीकका रूपमा रहेका चाडपर्वमा नकारात्मक प्रभाव देखिन थालेको छ । हिजोआज चाडपर्वमा विकृतिसँगै अनावश्यक खर्च गर्ने चलन बढ्न जाँदा हुने खाने र हुँदा खानेले मनाउने चाडपर्वमा फरक देखिनथालेको छ । धेरैका लागि चाडपर्व बोक्रिला बन्न पुगेका छन् । आधुनिकताको नाममा चाडपर्वको मौलिकता नै उपेक्षामा पर्न थालेको अनुभव गर्न थालिएको छ । यसले गर्दा हाम्रो मौलिक संस्कृति र परम्परा हराउँदै जाने हो कि भन्ने चिन्ता बढेको छ । समयमै यस्ता विकृति र विसङ्गतिलाई अन्त्य गरी सामाजिक सद्भाव, एकता र मौलिकतामा आधारित चाडपर्वलाई आत्मसात् गर्ने बानी सबै नेपालीमा आउन सके यसले राष्ट्रिय गरिमालाई अझ उच्च बनाउन बल पुग्दछ । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया