
ललितपुर - भारी वर्षाका कारण कालीगण्डकीको बाढीले घरबार बिहीन बनेका पर्वत जलजला गाउँपालिका–८ बासिन्दालाई खाना पकाउने एलपी ग्यास वितरण गरिएको छ ।
गण्डकी प्रदेशका बाढी तथा पहिरो प्रभावित समुदायका लागि आपतकालीन मानविय प्रतिकार्य परियोजनाअन्तर्गत खाद्यान्न तथा गैर खाद्यान्न सामग्री वितरण गरिएको हो । गैरसरकारी संस्था स्टार फण्ड नेपाल तथा युकेएड र किडाक नेपालको समन्वयमा पूर्ण रुपमा विस्थापित ३० परिवारलाई ग्याँस वितरण गरिएको हो । ग्याससँगै चामल, खाने तेल, दाल, नुन पनि वितरण गरियो । टेण्टमा बस्दै परिवारलाई खाना पकाउन दाउराको अभाव भएपछि ग्यास वितरण गरिएको हो ।
खाद्यान्न तथा अन्य आवश्यक सामग्री विभिन्न संस्थाले वितरण गरेको भए पनि पकाएर खान समस्या भएको गुनासो पछि ग्यास वितरण गरिएको गैरसरकारी संस्था सोर्डेक नेपालका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
तिमिल्सिनाका अनुसार पहिलो चरणमा पीडित परिवारलाई ग्यास र खाद्यान्नलगायत सामग्री वितरण गरिएको छ । लत्ताकपडा, भाडाकुँडा, स्वास्थ्य सामग्री तथा पुनःस्थापनाका लागि आवश्यक परेमा जस्ता पाता वितरण गरिने उहाँले बताउनुभयो । घरबारविहीन भए पनि उनीहरुको दैनिक जीवनयापनमा कुनै असहज नहोस् भनी विभिन्न दातृ निकायको सहयोगमा राहत तथा पुनःस्थापनामा जोड दिइएको उहाँको भनाइ छ ।
यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछि बाढी तथा पहिरोबाट बढी मात्रामा प्रभावित पर्वत, बागलुङ र मनाङमा उक्त परियोजना लागू हुने भएको छ । तीन जिल्लाका झण्डै एक हजार ५०० परिवारलाई आपतकालीन मानवीय प्रतिकार्यमा सहयोग गरिनेछ । उक्त योजनाका लागि रु तीन करोडभन्दा बढी रकम खर्चिने भएको छ । बाढी प्रभावित समुदायको माग र आवश्यकताको आधारमा खाद्यान्न तथा गैर खाद्यान्नका सामग्री वितरण गरिने सोडेक नेपालका महासचिव टङ्कलाल भुसालले जानकारी दिनुभयो ।
आजदेखि पर्वतका अन्य क्षेत्र तथा बागलुङ र मनाङमा समेत सामग्री वितरणको कार्यक्रम रहेको भुसालको भनाइ छ । कालीगण्डकीको बाढीका कारण फर्से गाउँकामात्रै ७० घरपरिवार विस्थापित बनेका छन् । अहिले उनिहरु बस्तीभन्दा माथिको पाखोमा अस्थायी टेण्ट टाँगेर बस्दै आएका छन् ।
उनीहरुलाई स्थानीय गाउँपालिका, विभिन्न सामाजिक सङ्घ संस्थाले विभिन्न उपभोग्यीय सामग्री सहयो गरिरहेको वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो । तत्कालका लागि अस्थायी बासको व्यवस्था भए पनि उनीहरुले दीर्घकालीन पुनःस्थापनाको माग गरेका छन् । बसोबासलाई व्यवस्थित तुल्याउन नसक्दा कतिपय व्यक्ति बिरामी पर्न थालेको वृद्ध गङ्गाबहादुर क्षेत्रीले बताउनुभयो । अर्कातर्फ पालिकाले विस्थापित परिवारको अस्थायी पुनःस्थापना गरिएको र दीर्घकालीन बासका लागि गृहकार्य भइरहेको अध्यक्ष राजु आचार्यले बताउनुभयो ।
विस्थापित समुदायका लागि फर्सेमै स्वास्थ्य एकाइ खडा गरी बिरामीको परीक्षण तथा निःशुल्क औषधोपचारका कार्यक्रमसमेत सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । पर्वतमा ३०० परिवार विस्थापित छन् ।



बिजनेस पाटी






