पूर्वी जेरुसेलममा एकैपटक ६९ जना विस्थापित, सन् २००९ यताकै ठूलो घटना

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २१
|
255 views

ललितपुर - इजरायली अधिकारीहरूले पूर्वी जेरुसेलमको अत–तुर क्षेत्रमा रहेको एक आवासीय भवन भत्काउँदा एकैपटक ६९ जना विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका मानवीय मामिला हेर्ने अधिकारीहरूका अनुसार, सन् २००९ यता एउटै भवन भत्काउँदा यति ठूलो संख्यामा मानिस विस्थापित भएको यो पहिलो घटना हो ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार, उक्त भवनमा बसोबास गर्ने ६९ जनामध्ये आधाभन्दा बढी बालबालिका थिए । ओसीएचए र साझेदार संस्थाका प्रतिनिधिहरूले घटनास्थलको निरीक्षण गरेका थिए । प्रभावित परिवारहरूले इजरायली सेनाले उनीहरूलाई आफ्ना सामान निकाल्न नदिएको र धेरै सामान भग्नावशेषमुनि पुरिएको बताएका छन् ।

    साझेदार संस्थाहरूले प्रभावित परिवारको तत्कालीन आवश्यकता मूल्यांकन गरी उनीहरूलाई घरभाडा सहयोग तथा अत्यावश्यक सामग्री उपलब्ध गराउने व्यवस्था गरेका छन् । साथै, उनीहरूलाई आपत्कालीन आश्रय, आवश्यक सामग्री र मनोसामाजिक सहयोग पनि प्रदान गरिएको छ ।

    ओसीएचएका अनुसार, यस वर्ष मात्रै इजरायली अधिकारीहरूले पश्चिम किनारामा एक हजार ८०० भन्दा बढी प्यालेस्टिनीका घर भत्काएका वा घरधनीलाई आफैं घर भत्काउन बाध्य पारेका छन् । अधिकांश घर इजरायलबाट निर्माण अनुमति प्राप्त नभएको भन्दै भत्काइएको हो। प्रभावित क्षेत्रमा प्यालेस्टिनीहरूलाई यस्तो अनुमति अत्यन्तै कम मात्र दिइने ओसीएचएले जनाएको छ ।

    गाजामा खानेपानी संकट गहिरिँदै

    यसैबीच, गाजामा पानी र सरसफाइसम्बन्धी मानवीय सहायता पनि प्रभावित भएको ओसीएचएले जनाएको छ । आर्थिक स्रोतको अभाव तथा अत्यावश्यक सामग्रीको प्रवेशमा लगाइएको प्रतिबन्धका कारण पानी आपूर्ति प्रणाली सञ्चालनमा कठिनाइ भइरहेको छ ।

    इन्जिन तेल, स्पेयर पाट्र्स तथा सवारीसाधन र मेसिन सञ्चालनका लागि आवश्यक उपकरणजस्ता सामग्री आयातमा प्रतिबन्ध रहेकाले दक्षिणी गाजाका दुईवटा समुद्री पानी प्रशोधन केन्द्रमा पानी उत्पादन घटेको छ ।

      उपकरणको समयमै मर्मतसम्भार हुन नसक्दा देर अल–बालाह र खान युनिसमा रहेका करिब ५ लाख मानिसले पाउने पिउने पानीको मात्रा केही घटेको साझेदार संस्थाहरूले बताएका छन् । गाजाभरि करिब चारमध्ये तीन परिवार पानीको पूर्वाधार पुनःस्थापित नभएसम्म ट्यांकरमार्फत वितरण गरिने पानीमा निर्भर छन् ।

      मानवीय संस्थाहरूले दैनिक करिब २५ हजार घनमिटर पिउने पानी वितरण गरिरहेका छन् । तर पानी वितरणमा प्रयोग हुने सवारीसाधनको नियमित मर्मत आवश्यक पर्ने र सुरक्षा अवस्थाका कारण विभिन्न क्षेत्रमा पहुँच अवरुद्ध हुने गरेकाले समस्या थपिएको छ । विशेषगरी तथाकथित ‘येलो लाइन’ आसपासका क्षेत्रमा पहुँच प्रभावित हुने गरेको ओसीएचएले जनाएको छ ।

      सेप्टेम्बरको चौथो सातामा मात्रै मानवीय साझेदार संस्थाहरूले ट्यांकरबाट वितरण गरिएको पानी संकलन गर्न सर्वसाधारणलाई सहयोग पु¥याउने उद्देश्यले १० लिटर क्षमताका १२ हजारभन्दा बढी पानीका कन्टेनर वितरण गरेका थिए ।

      फोहोर व्यवस्थापनमा समेत चुनौती

      आयातमा प्रतिबन्धित सामग्रीको अभावका कारण गाजामा ठोस फोहोर संकलन र व्यवस्थापनका लागि आवश्यक सवारीसाधनसमेत सञ्चालन गर्न कठिन भएको छ । त्यसका कारण कतिपय क्षेत्रमा गधा तान्ने गाडा र संयुक्त राष्ट्रसंघका ट्रकको प्रयोग गर्नुपरेको छ ।

      ओसीएचएका अनुसार, प्रतिबन्धित सामग्रीको प्रवेशका लागि आवश्यक स्वीकृति उपलब्ध गराउनुका साथै गाजाका दुईवटा ल्यान्डफिल क्षेत्रमा पहुँच पुनःस्थापित गर्न आवश्यक छ । अन्यथा घना बस्ती भएका क्षेत्रमा फोहोर थप थुप्रिँदै जाने जोखिम छ ।

      ओसीएचएले गाजामा मानवीय सहायता तथा अत्यावश्यक सेवा सञ्चालनका लागि निरन्तर इन्धन आपूर्तिका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube