
ललितपुर - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न तथा अन्तर्राष्ट्रिय कानूनअनुसार नौवहन अधिकार र स्वतन्त्रता पूर्ण रूपमा पुनःस्थापित गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।
पाकिस्तान भ्रमणका क्रममा मङ्गलबार प्रेस टिप्पणी गर्दै उहाँले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मध्यपूर्वमा दिगो शान्ति कायम हुन नसक्ने बताउनुभयो । प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारको पक्षमा पाकिस्तानले निरन्तर आवाज उठाउँदै आएको उहाँले उल्लेख गर्नुभयो ।
महासचिव गुटेरेसले द्वन्द्व र अस्थिरताबाट भागेका लाखौँ अफगान नागरिकलाई पाकिस्तानले दशकौँदेखि आश्रय दिँदै आएको उल्लेख गर्नुभयो । संवाद र सहकार्यमा आधारित प्रयासबाट मध्यपूर्वमा शान्ति र समृद्धि फस्टाउने आशा व्यक्त गर्दै उहाँले क्षेत्रीय स्थायित्वका लागि कूटनीतिक समाधान आवश्यक रहेको बताउनुभयो ।
उहाँले संयुक्त राष्ट्रसङ्घका सिद्धान्तको समर्थन गर्दै अफगान नागरिक स्वेच्छाले, सुरक्षित र सम्मानपूर्वक स्वदेश फर्कन सक्ने अवस्था सुनिश्चित गर्न पाकिस्तानसँग सहकार्य गर्न संयुक्त राष्ट्रसङ्घ प्रतिबद्ध रहेको बताउनुभयो । महासचिव गुटेरेसको पाकिस्तानको पछिल्लो भ्रमण सन् २०२२ मा देशभर विनाशकारी बाढी आएपछि भएको थियो ।



बिजनेस पाटी















