कृष्ण सागरमा एकअर्कामाथि आक्रमण गरेको रुस र युक्रेनको दाबी

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक २८
|
153 views

ललितपुर - रुस र युक्रेनले कृष्ण सागर क्षेत्रमा एकअर्कामाथि आक्रमण गरेको दाबी गरेका छन् । रुसले युक्रेनका लागि सैन्य सामग्री बोकेको आरोपमा दुई मालवाहक जहाजमाथि आक्रमण गरेको जनाएको छ भने युक्रेनले रुसी आक्रमणबाट नागरिक तथा व्यावसायिक संरचनामा क्षति पुगेको बताएको छ ।

रुसी पक्षका अनुसार कृष्ण सागर र युक्रेनको चोर्नोमोस्र्क बन्दरगाहमा सैन्य सामग्री आपूर्ति गरिरहेका दुई मालवाहक जहाजलाई लक्षित गरी आक्रमण गरिएको हो । मस्कोले उक्त कारबाहीका क्रममा एक हजार २०० युक्रेनी सैनिक मारिएको र सयौँ ड्रोन नष्ट गरिएको दाबीसमेत गरेको छ ।

युक्रेनले भने रुसी विवरणलाई अस्वीकार गर्दै आक्रमण नागरिक तथा व्यावसायिक संरचनामाथि केन्द्रित रहेको जनाएको छ । आक्रमणमा केही मानिस हताहत हुनुका साथै आवासीय भवनहरूमा क्षति पुगेको युक्रेनी पक्षको भनाइ छ ।

युक्रेनी अधिकारीहरूले किएभ र ओडेसामा ऊर्जा पूर्वाधारमाथि प्रहार भएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको बताएका छन् । युक्रेनको वायु सेनाले भने आफ्नो हवाई प्रतिरक्षा प्रणालीले प्रहार गरिएका अधिकांश ड्रोन र क्षेप्यास्त्र रोकेको दाबी गरेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube