प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ३
|
51 views

ललितपुर - प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ । उहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मङ्सिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी मन्त्रालयले तीव्र रूपमा गरिरहेको जानकारी दिनुभयो । ‘विषयगत रूपमा आन्तरिक तयारी तीव्र पारिएको छ, भ्रमणका विषयमा विस्तृत जानकारी मन्त्रालयले छिट्टै सार्वजनिक गर्नेछ’, प्रवक्ता क्षेत्रीले भन्नुभयो ।

भ्रमणका क्रममा दुई देशबीच कनेक्टिभिटी विस्तारमा जोड दिइनेछ । साथै विकास सहायता, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउनेलगायत विषयमा छलफल हुने जनाइएको छ ।

भ्रमणमा हवाई कनेक्टिभिटी विस्तार, नेपाललाई थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने, रेलवे तथा सडक सञ्जाल विस्तार र ऊर्जा क्षेत्रको पूर्वाधार विकासका एजेन्डा प्राथमिकतामा रहने बुझिएको छ ।

रेलवे कनेक्टिभिटीअन्तर्गत जनकपुर–अयोध्या रेलवेको शुभारम्भ, जयनगर–जनकपुर रेलसेवालाई बर्दिबाससम्म विस्तार गर्ने, रक्सौल–काठमाडौँ रेलमार्गको सम्भावना तथा अन्य रेलवे सम्पर्क विस्तारका विषयमा सहमति हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, सडक तथा पुल निर्माण, एकीकृत जाँच चौकी (आइसीपी) निर्माण र विद्युत् प्रसारण लाइन विस्तारका विषय पनि छलफलको एजेन्डामा रहनेछन् ।

विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग तथा विकास निर्माणका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा पनि भ्रमणका क्रममा छलफल हुनेछ । विशेषगरी भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरूको समीक्षा, सम्पन्न भएका आयोजनाको उद्घाटन र हस्तान्तरण तथा निर्माणाधीन आयोजनालाई शीघ्र सम्पन्न गर्ने विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरी, केही नयाँ विकास आयोजना सुरु गर्ने विषयले पनि भ्रमणका क्रममा प्राथमिकता पाउने अपेक्षा गरिएको छ । भारतीय सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाको निर्माणलाई तीव्रता दिने र नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानजस्ता सम्पन्न आयोजनाको उद्घाटन तथा हस्तान्तरणको विषय पनि सम्भावित एजेन्डाको सूचीमा रहेको बुझिएको छ ।

भ्रमणका अवसरमा दुई देशबीचको पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल हुनेछ । दुई देशबीच नागरिकस्तरमा सम्बन्ध विस्तार, सीमापार भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने विषय पनि छलफलमा समेटिने सम्भावना छ ।

प्रधानमन्त्री शाहको भ्रमणको तयारीकै सिलसिलामा भारतका विदेशसचिव विक्रम मिश्रीले गत कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो । सो अवसरमा उहाँले प्रधानमन्त्री शाह र केही मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

साथै भ्रमणको पूर्वसन्ध्यामा दुवै देशले रिक्त रहेका आ–आफ्ना राजदूत नियुक्त गरिसकेका छन् भने नवनियुक्त राजदूतहरूले पनि आफ्नो स्तरमा भ्रमणको तयारी थालिसकेका सम्बन्धित दूतावासले जनाएका छन् ।

प्रधानमन्त्री शाहले गत चैत १३ गते आफ्नो जिम्मेवारी सम्हालेपछि गत असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन पहिलोपटक विदेश भ्रमण गर्नुभएको थियो ।

त्यस्तै उहाँको आसन्न भारत भ्रमण प्रधानमन्त्री भएपछि छिमेकी मुलुकको पहिलो औपचारिक भ्रमण हुनेछ ।

       पात्रो/राशिफल  रेडियो YouTube