परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ३
|
51 views

ललितपुर - परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग अनुरोध गर्नुभएको छ ।

नेपाल भ्रमणमा रहेका चीनका ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ्ग वानमिङ्गले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले सिन्धुपाल्चोकस्थित तातोपानी नाका यथाशक्य छिटो खुलाउन चिनियाँ पक्षसँग अनुरोध गर्नुभएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले गत भदौमा गएको बाढीले रसुवागढी नाका बन्द भएको र चीन जोड्ने अन्य उच्च हिमाली नाकाहरू चिसोले पूर्ण रूपमा सञ्चालन हुन नसक्ने विषम अवस्थामा काठमाडौँबाट सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनका लागि अध्यक्ष याङ्गसँग आग्रह गर्नुभएको हो ।

‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ’, परराष्ट्रमन्त्री खनालले भन्नुभयो, ‘यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको ‘कनेक्टिभिटी’का लागि तत्काल खुलाउन जरुरी छ ।’

सो अवसरमा अध्यक्ष याङ्गले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी दिनुभयो । भेटवार्ताका क्रममा दुई मुलुकबीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तर, शिक्षालगायत विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube