
ललितपुर - पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
लामो समयदेखि अलपत्र रत्ननगर सभाहलको आज निरीक्षण गर्दै उहाँले अस्पतालको सेवा विस्तारका लागि उक्त संरचना उपयोगी हुने भएकाले अस्पताललाई हस्तान्तरण गर्न आफूले प्रयास गर्ने बताउनुभयो ।
स्थानीयको माग र आवश्यकताअनुसार सभाहल अस्पताललाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै मन्त्री लम्सालले नगरपालिकासँग समन्वय गरेर अस्पतालले नै सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । विसं २०७३ देखि निर्माण सुरु भएको सभाहल एक दशकसम्म पनि पूरा भएको छैन ।
चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले पनि सभाहल अस्पताललाई हस्तान्तरण गर्नुपर्ने माग गर्दै यस विषयमा आफूले मन्त्रीसँग पहिलेदेखि नै छलफल गर्दै आएको बताउनुभयो । अस्पतालले उक्त संरचना प्राप्त गरे नर्सिङ कलेज सञ्चालन, बिरामीका लागि थप सेवा तथा अन्य स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गर्न सहज हुने बताउनुभयो ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले एउटै नगरपालिकामा दुईवटा सभाहल आवश्यक नभएकाले अस्पताललाई हस्तान्तरण गर्नु उपयुक्त हुने बताउनुभयो ।
बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा अङ्कुर पौडेलले अस्पतालमा दैनिक एक हजार ५०० भन्दा बढी बिरामी आउने गरेका जानकारी दिँदै भौतिक पूर्वाधारको अभावमा सेवा विस्तार गर्न कठिनाइ भइरहेको बताउनुभयो ।



बिजनेस पाटी










