नेप्सेमा १०.८९ अंकको गिरावट, ५ अर्बमाथि कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर १०
|
51 views

ललितपुर - बिहीबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो ।

यस दिन नेप्से परिसूचक १०.८९ अंक घटेर २६३६.७५ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८७ अंक घटेको छ ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब १४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५५ स्टकको ४९ हजार ८०६ पटकको कारोबारमा ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार रुपैयाँबराबरको १ करोड ४७ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

      यस दिन शेयरमूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। टप गेनर्सको शीर्ष स्थानमा रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन ४.८८ प्रतिशत बढेको छ। त्यस्तै, लक्ष्मी उन्नती कोषको इकाईमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावटदर पनि ५ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको एलएस होराइजन १२ को इकाईमूल्य सबैभन्दा बढी ४.७६ प्रतिशत घटेको छ ।

      कारोबार रकमका आधारमा यस दिन हिमालयन उर्जा विकास कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ५१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको साढे २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआईसी एशिया बैंकको कारोबार रकम १८ करोड रुपैयाँ नाघेको छ ।

      १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५२ प्रतिशत घटेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube