२०८२ फाल्गुन ६ | Feb 18, 2026

‘खल्ती’का सह-संस्थापक’ अधिकारीले गरे ‘सनफ्लावर इन्स्टिच्युट फर अटिजम’ को औपचारिक घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ९
|
1.4k views

ललितपुर । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’का सह संस्थापक तथा पूर्व प्रमुख प्रविधि अधिकृत ध्रुव अधिकारीले आफ्नो नयाँ सामाजिक परियोजना ‘सनफ्लावर इन्स्टिच्युट फर अटिजम’ को औपचारिक घोषणा गरेका छन्।

केही समयअघि खल्तीबाट बाहिरिएका अधिकारीले सरस्वती पूजाको अवसर पारेर ‘सनफ्लावर इक्विटी पार्टनर्स’ अन्तर्गत यो प्रमुख परियोजना सार्वजनिक गरेका हुन्। उनले यो पहल दीर्घकालीन र बृहत् रहेको बताएका छन्।

अधिकारीले सनफ्लावर इक्विटी पार्टनर्सलाई केवल एउटा आर्थिक लगानी गर्ने कम्पनीका रूपमा मात्र नभई समाजप्रतिको प्रतिबद्धताका रूपमा अघि बढाएको बताएका छन् । यो संस्था नाफाभन्दा पनि प्रभाव र उद्देश्य मा केन्द्रित रहने उनले बताएका छन्।

यो संस्था नाफाभन्दा पनि प्रभाव र उद्देश्यमा केन्द्रित रहनेछ। यसको मुख्य लक्ष्य भनेको ‘मल्टिप्लायर इन्स्टिच्युट’ अर्थात् एउटा उत्कृष्ट केन्द्र निर्माण गर्नु हो, जसले अटिजम र समावेशीताका क्षेत्रमा देखिएका संरचनात्मक समस्याहरूलाई समाधान गर्नेछ। उनका अनुसार, हरेक वर्ष १,५०० भन्दा बढी नवजात बालबालिकालाई थेरापी तथा विशेष हेरचाहको आवश्यकता पर्ने भए पनि, हाल सञ्चालनमा रहेका केन्द्रहरूले ५० जनाभन्दा बढीलाई सेवा दिन नसक्ने अवस्था छ।

प्रारम्भिक अनुमान अनुसार, २५ वर्ष मुनिका करिब २० हजार व्यक्तिहरू अहिले पनि यस्तो सेवाबाट वञ्चित छन्। अधिकारीले वर्तमान प्रणालीले यो बढ्दो माग धान्न नसक्ने संकेत देखिएको भन्दै उनले अब कुरा गर्ने समय सकिएको र ठोस तथा प्रभावकारी समाधान निर्माण गर्ने समय आएको बताएका छन्।


हाल कानुनी प्रक्रियाहरू अन्तिम चरणमा रहेको यो परियोजनाले प्रारम्भिक चरणमा अटिजम, अपाङ्गता तथा समावेशीताका लागि आवश्यक पूर्वाधार विकासमा केन्द्रित रहनेछ। भविष्यमा यसलाई मानसिक स्वास्थ्यको क्षेत्रमा पनि विस्तार गर्ने योजना रहेको अधिकारीले जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया