ललितपुर – अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार पुस मसान्तसम्म कुल बजेट खर्च वार्षिक लक्ष्यको ४६.०६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.७५ प्रतिशतले बढी हो ।
चालु आवका लागि विनियोजित १९ खर्ब ६४ अर्ब रुपैयाँमध्ये पुस मसान्तसम्म ९ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको मन्त्रालयले जनाएको छ । चालु शीर्षकतर्फ ४०.८२ प्रतिशत खर्च हुँदा पुँजीगत शीर्षकमा भने ११.६६ प्रतिशत मात्र खर्च हुन सकेको छ ।
राजस्व संकलन लक्ष्यभन्दा कमजोर देखिएको छ। सरकारले पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा ५ खर्ब ८१ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ, जसले झन्डै १ खर्ब ३० अर्ब रुपैयाँको कमी देखाएको छ ।
यस्तै, बेरुजु फछ्र्यौटमा पनि न्यून प्रगति देखिएको छ। कुल १ खर्ब २५ अर्ब रुपैयाँ बेरुजुमध्ये यस अवधिमा ८ अर्ब रुपैयाँ मात्र फछ्र्यौट भएको मन्त्रालयले जनाएको छ ।
निर्वाचन व्यवस्थापन, राजस्व प्रशासन सुदृढीकरण, कानुनी सुधार तथा वित्तीय अनुशासन कायम गर्न केन्द्रित प्रयास भए पनि पुँजीगत खर्च र राजस्व संकलन अर्थतन्त्रका मुख्य चुनौतीका रूपमा कायम रहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया