ललितपुर – नेपाल बैंकमा आफूभन्दा कनिष्ठ कर्मचारीलाई नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)नियुक्त गरिएको विषयलाई लिएर सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) विश्वराज बरालले बैंकबाट राजीनामा दिएका छन्।
बरालले माघ ४ गते राजीनामा पत्र बुझाएका हुन् र कर्मचारी सेवा नियमावली अनुसार एक महिनाको सूचना अवधि पूरा गरी फागुन १० गतेदेखि लागू हुने गरी राजीनामा दिने जानकारी दिएका छन्। उनले राजीनामा पत्र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)) समक्ष बुझाइसकेको र स्वीकृत गर्ने जिम्मेवारी व्यवस्थापनकै हातमा रहेको उल्लेख गरेका छन्।
बरालका अनुसार आफूभन्दा कनिष्ठ कर्मचारीलाई वरिष्ठ पदमा नियुक्त गरेपछि काम गर्ने वातावरण नै नरहेको महसुस भएपछि उनी बाध्य भएर जागिर छाड्ने निर्णयमा पुगेका हुन्। उनी आगामी फागुन २० गते अनिवार्य अवकाशमा जानुपर्थ्यो, तर १० दिनअघि नै राजीनामा दिने निर्णय गरेका छन्।
बैंक स्रोतका अनुसार बरालले २० वर्षे सेवा अवधि पूरा गरिसकेकाले सबै सेवा सुविधा पाउनेछन्। बैंकका एक कर्मचारीका अनुसार डीसीईओ नियुक्ति पछि बराल मानसिक रूपमा मर्माहत भएका थिए र बाँकी समय काम गर्न वातावरण नबनेपछि राजीनामा रोजेका हुन्।
स्रोतका अनुसार होमबहादुर खड्कालाई सीईओलाई सहयोग गर्ने उद्देश्यले डीसीईओमा नियुक्त गरिएको भए पनि नियुक्तिपछि सीईओ र डीसीईओबीच अपेक्षित समन्वय हुन नसकी विवाद सुरु भएको थियो। वरिष्ठताक्रम मिचेर गरिएको पदोन्नतिले कर्मचारी मनोबलमा नकारात्मक असर पार्ने भन्दै नेपाल बैंकभित्र व्यापक असन्तुष्टि देखिएको छ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया