२०८२ फाल्गुन ६ | Feb 18, 2026

६२ करोडको लागतमा भक्तपुर अस्पतालको नयाँ सुविधासम्पन्न भवन निर्माण हुँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ५
|
1.1k views

ललितपुर । भक्तपुर अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यसहित करिब ६२ करोड रुपैयाँको लागतमा नयाँ सुविधासम्पन्न भवन निर्माण गरिने भएको छ। बढ्दो स्वास्थ्य सेवाको मागलाई ध्यानमा राख्दै अस्पताल पूर्वाधार विस्तारको काम अघि बढाइएको हो।
अस्पताल स्रोतका अनुसार नयाँ भवन निर्माणपछि आकस्मिक सेवा, बहिरङ्ग सेवा, भर्ना कक्ष, शल्यक्रिया कक्ष, प्रयोगशाला तथा विशेषज्ञ सेवा एकै स्थानबाट उपलब्ध हुनेछन्। आधुनिक उपकरणसहितको भवनले बिरामीलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


नयाँ भवन बहुतले संरचनामा निर्माण गरिने र भूकम्प प्रतिरोधी मापदण्डअनुसार तयार गरिने जनाइएको छ। निर्माण कार्य समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने भवन सञ्चालनमा आएपछि भक्तपुरसहित आसपासका जिल्लाका नागरिकलाई समेत प्रत्यक्ष लाभ पुग्ने अस्पताल व्यवस्थापनको भनाइ छ। स्थानीय तह र सरोकारवाला निकायको सहकार्यमा अघि बढाइएको यो परियोजनाले सरकारी अस्पतालको सेवास्तर सुधारमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। नयाँ भवन निर्माणसँगै जनशक्ति व्यवस्थापन र सेवा विस्तारलाई पनि प्राथमिकतामा राखिने बताइएको छ।


अस्पतालको पूर्वाधार सुदृढीकरणले निजी अस्पतालमा गइ महङ्गोमा उपचारसेवा लिनुपर्ने बाध्यतालाई घटाउने र सर्वसाधारणलाई सुलभ तथा किफायती स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया