२०८२ फाल्गुन ६ | Feb 18, 2026

बुढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउनुपर्छ- अध्यक्ष ढकाल

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १६
|
969 views

ललितपुर- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्  ।

धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलासाययुक्त जलविद्युत आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिए । साथै उनले सो अवसरमा बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण तत्काल अघि बढाउन दबाब दिने उदेश्यले सञ्चालन गरिएको हस्ताक्षर अभियानमा हस्ताक्षर समेत गरे । 

नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताहरुको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रको तर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरु तयार रहेको समेत अध्यक्ष ढकालले बताए । उनले भने- ‘नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको छ ।  जलविद्युतको विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने छ । आवश्यक परेमा हामी सहयोग गर्न तयार छौं ।’ 

उनले धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्रहरु जस्तै खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेको समेत उल्लेख गरे । 

अध्यक्ष ढकालले निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभित भएको बताउदै भने- ‘निजी क्षेत्रले उत्पादन गरेको छ । पूर्वाधार निर्माण गरेको छ । सेवा दिएको छ । रोजगारी सृजना गरेको छ । राजस्व तिरेको छ । तर, यो निजी क्षेत्र किन सधै उपक्षित भएको छ ।’

अध्यक्ष ढकालले स्थानीयरुपमा आयोजना गरिने मेला महोत्सवहरुले स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताउँदै यस्ता मेला महोत्सवहरुलाई महासंघले सदैव प्राथमिकतामा राख्नेगरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया