२०८२ फाल्गुन ६ | Feb 18, 2026

बदलिएको कांग्रेसले देश बदल्छ : सभापति थापा

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १७
|
765 views

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रूपान्तरण भएको कांग्रेसले नै देशको रूपान्तरण गर्ने दृढ सङ्कल्पका साथ अघि बढेको बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै सभापति थापाले देश बदल्न कांग्रेस आफैँ बदलिनु आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले समयको मागअनुसार कांग्रेस नयाँ सोच, नयाँ कार्यदिशा र स्पष्ट सङ्कल्पसहित अघि बढिरहेको बताउनुभयो ।

“अब कांग्रेस नेतामुखी होइन, कार्यकर्तामुखी पार्टी बन्दैछ,” सभापति थापाले भन्नुभयो, “टिकट लिन नेताको ढोका ढकढक्याउने संस्कृतिको अन्त्य गर्दै कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ।”

लोकतन्त्र र सामाजिक न्यायका विषयमा कांग्रेसले कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै उहाँले सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता आम नागरिकको प्रमुख चाहना रहेको उल्लेख गर्नुभयो । बदलिएको कांग्रेसले नागरिकको यही चाहना पूरा गर्ने प्रतिबद्धता लिएको उहाँको भनाइ थियो ।

सभापति थापाले विशेष महाधिवेशनपछि पार्टीभित्र गुट र भागबण्डाको राजनीति अन्त्य भएको दाबी गर्दै युवाको आवाजलाई केन्द्रमा राखेर कांग्रेस अघि बढिरहेको बताउनुभयो । उहाँका अनुसार कांग्रेससँग स्पष्ट सुधारको एजेण्डा मात्र होइन, सबैलाई समेट्ने राजनीतिक क्षमता पनि छ ।

देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेशिनु नपर्ने वातावरण बनाउन कांग्रेस लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आफूलाई आजको स्थानसम्म पुर्‍याउन काठमाडौं क्षेत्र नं ४ का कार्यकर्ता र मतदाताको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।

“तपाईंहरूले लगाएको गुन जीवनभर तिर्न सक्दिन,” सभापति थापाले भावुक हुँदै भन्नुभयो, “तीनपटक यही क्षेत्रबाट निर्वाचित हुन पाउनु क्षेत्र नं ४ वासीको विश्वास र सहयोगकै परिणाम हो।”

मधेस र काठमाडौंबीचको दूरी घटाउन तथा मधेसका मुद्दा नजिकबाट बुझ्न आफू सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा कांग्रेस काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार सचिन तिमल्सिनाले क्षेत्रको समग्र विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । जेनजी आन्दोलनपछि रूपान्तरण भएको कांग्रेसले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको उल्लेख गर्दै उहाँले विजयका लागि क्षेत्र नं ४ वासीको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया