फलफूलखेतीः बगैँचा बढे तर उत्पादन न्यून

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २१
|
51 views

ललितपुर - मधेस आँप, लिची र केरासहितका फलफूल उत्पादनको उर्वर ठाउँ मानिन्छ । यहाँ ती फलफूलखेतीले खासै गति लिएको छैन । जिल्लामा आँप र लिचीका बगैँचा बर्सेनि केही बढेका देखिए पनि उत्पादनले भने उत्साह दिन नसकेको किसानको गुनासो छ ।

‘बगैँचा त बढेका छन्, तर उत्पादन बढेन’, बर्दिबास–५ चेरुका किसान होतराज घिमिरे भन्नुहुन्छ, ‘खासगरी विभिन्न रोगव्याध, सुक्खा र वर्ष बिराउने क्रमले आँप र लिचीको उत्पादन बढ्न नसकेको हो, आफ्ना करिब २०० आँपका रुखमा पछिल्ला तीन वर्षयता झन्झन् उत्पादन घटेको छ ।’

    मधेसमा फलको राजा मानिने आँपखेती यसपालि जिल्लामा पाँच हजार हेक्टरको सेरोफेरोमा पुगेको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयको तथ्याङ्क छ । यो गत वर्षभन्दा ५०० हेक्टरले बढी हो । आव २०८२/८३ मा जिल्लामा आँपखेती चार हजार ५६० हेक्टरमा रहेको कार्यालयको तथ्याङ्क छ । बितेको सिजनको सो वर्ष आँप २९ हजार ७०० मेट्रिक टन उत्पादन भएको थियो । जुन आव २०८०/८१ भन्दा निकै कम हो ।

    आव २०८०/८१ मा चार हजार ५०० हेक्टरमा रहेको आँप बगैँचाबाट ४७ हजार २५० मेट्रिक टन उत्पादन भएको थियो । आव २०८१/८२ मा भने माथिका दुवै वर्षभन्दा निकै कम उत्पादन भएको तथ्याङ्क छ । सो वर्ष चार हजार ५०० हेक्टरमै रहेको बगैँचाबाट १३ हजार ४६० मेट्रिक टनमात्र आँप उत्पादन भएको तथ्याङ्कले देखाएको छ ।

    वर्ष–वर्षमा आँप उत्पादनमा यति धेरै फरक पर्नुमा ‘अफइयर’ (वर्ष बिराउने), सुक्खाखडेरी र मधुवा (आँपको पूलमा लाग्ने डढुवा रोग)को प्रकोप मुख्य कारण भएको बागवानी विज्ञसमेत रहनुभएका कृषि ज्ञान केन्द्र कार्यालय जलेश्वरका सूचना अधिकारी अविरलकुमार महतोको भनाइ छ । आँपमा प्रत्येक दुईतीन वर्षमा ‘अफइयर’ हुनेहुँदा सो वर्ष उत्पादन घट्ने गरेको महतोले स्पष्ट पार्नुभयो ।

      मधेसको माटो र हावापानी आँपका लागि अनुकूल भए पनि बजारको अनिश्चितताले यो खेती महोत्तरीमा खासै बढ्न नसकेको विज्ञहरु स्वीकार गर्छन् । मधेसमा आँप रोप्ने समय असारदेखि असोजसम्म र पछि फागुन उपयुक्त मानिन्छ । यसपालि चालु आवको अन्त्यसम्म पाँच हजार हेक्टरको सेरोफेरोमा आँपखेती पुग्ने कार्यालयको अनुमान छ ।

      यसैगरी मधेसको अर्को प्रसिद्ध फल लिचीका बगैँचा पनि जिल्लामा सामान्य रूपमा बढ्दो छ । आव २०८०/८१ मा १०५ हेक्टरमा मात्र रहेको लिची सो वर्ष एक हजार ५० मेट्रिक टन उत्पादन भएको थियो । सोलगत्तै पछिको आव २०८१/८२ मा खेती १२० हेक्टर र आव २०८२/८३ मा १४० हेक्टर पुगेको कार्यालयले जनाएको छ । यी दुई वर्षमा उत्पादन क्रमशः एक हजार २२५ र एक हजार ४५० मेट्रिक टन पुगेको तथ्याङ्क रहेको महतोले स्पष्ट पार्नुभयो । चालु आवमा लिची केही बढेर २०० हेक्टरमा पुग्ने कार्यालयको अड्कल छ । थोरथोरै बढेको क्षेत्रफलमा उत्पादन पनि केही बढेको देखिए पनि रुखको अनुपातमा उत्पादन कमै भएको विज्ञको भनाइ छ ।

      त्यसैगरी, बजारैपिच्छे केराको बजार सदाबहार जमे पनि महोत्तरीमा केराखेती खासै बढेको छैन । बरु तीन वर्षअघिभन्दा अहिले केराखेती घटेको छ । आव २०८०/८१ मा ३०० हेक्टरमा रहेको केराखेती २०८१/८२ मा २८० हेक्टरमा झरेको तथ्याङ्कमा देखिन्छ । आव २०८२/८३ मा भने अलिकति बढेर २९० हेक्टरमा पुगेको खेती यसपालि ४०० हेक्टरको हाराहारी पुग्ने बागवानीविज्ञ महतोले बताउनुभयो ।

      केराको उत्पादन आव २०८०/८१ मा चार हजार ७२९, आव २०८१/८२ मा चार हजार ४८० र आव २०८२/८३ मा चार हजार ४९५ मेट्रिक टन उत्पादन भएको महतोले तथ्याङ्क केलाउँदै स्पष्ट पार्नुभयो । मधेसका प्रत्येकजसो चाडबाडमा अनिवार्यजस्तै मानिएको केरा यहाँका सबैजसो बजारमा दिनहुँ बिक्री हुन्छ । यो सबै केरा अन्य जिल्ला र भारततिरबाट समेत आउने फलफूल व्यापारी नै बताउँछन् । केराका लागि पनि यहाँको माटो, हावापानी अनुकूल भए पनि यस आधारमा खेती भने नबढेको देखिन्छ ।

      आँप, लिची र केराको यो व्यावसायिक खेतीको तथ्याङ्क हो । मधेसमा थोरै जग्गा हुनेले पनि घरकरेसामै एकदुईवटा आँप, लिची र एकाध झाङ केरा लगाएका बाक्लै देखिन्छ । आफ्नो घरको प्रयोजनका लागि यसरी आँप, लिची र केरा लगाउने किसान भने आम रूपमै पाइने गरेको महतो बताउनुहुन्छ ।

      जिल्लामा ७१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेको कार्यालयको तथ्याङ्क छ । यसबाहेक अन्य बाली राम्ररी नहुर्कने पाखा-ढड्यान ठाउँमा पनि सामान्य मेहनत र सम्भारमा आँप, लिची र केरा हुर्काउन सकिन्छ । मधेसको माटो र हावापानी यी फल खेतीका लागि अनुकूल भए पनि यसबाट जीवनयापन र राम्रो आर्जनको भरोसा जगाउन नसकिँदा खेती अपेक्षित बढ्न नसकेको कृषि क्षेत्रकै सरकारी सेवाको सहसचिबबाट अवकाश लिनुभएका बागवानीविज्ञ भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेलको विगत अनुभव छ ।

       पात्रो/राशिफल  रेडियो YouTube